भारत सरकारले किन रोक्यो गाडीमा 'फुल ट्याङ्क' पेट्रोलियम पदार्थ भर्न?

Posted on: 28 Mar, 2023

चैत १४, काठमाडौँ | भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले सवारी साधनमा फुल ट्याङ्क इन्धन नभर्न आग्रह गर्दै नयाँ परिपत्र जारी गरेको छ।

यसअघि मन्त्रालयमा पेट्रोलियम डिलर एसोसिएसनबाट दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको सेवा पुस्तिकामा ट्याङ्कीको क्षमता गलत लेखिएको भन्दै त्यहाँको नापतौल महाशाखामा गुनासो पुगेको थियो।

इन्धन ट्याङ्की क्षमता वास्तविक भोल्युम भन्दा १५-२० प्रतिशत कम रहेको गुनासो थियो। तर सवारी साधन उत्पादक कम्पनीहरुले भने ट्याङ्कीमा राखेको सो खाली स्पेस सुरक्षाका केही विषयमा ध्यान दिएरै राखिएको बताएपछि मन्त्रालयले सो निर्देशन जारी गरेको हो।

मन्त्रालयले सवारी चालकहरूलाई आफ्नो सवारीको पेट्रोल ट्याङ्कीलाई पूर्ण रुपमा नभर्न आग्रह गरेको हो। सरकारले अटो उत्पादक कम्पनीहरुलाई पनि त्यहीअनुसार सुरक्षाको विषयलाई ध्यानमा राखेर कति क्षमता निर्धारण गर्ने भन्ने बारे निर्णय गर्न सुझाव दिएको छ।

त्यही अनुसार ग्राहकहरुलाई इन्धन भर्न सुझाव दिन पनि सरकारले अटो निर्माताहरूलाई आग्रह गरेको छ।

यस्तै, उत्पादक कम्पनीहरुले तोकेको ट्याङ्कीको क्षमता अनुसार इन्धन भर्दा ग्राहक र इन्धन पम्पहरुबिच लफडा हुने गरेको छ। नेपालमा पनि यस्ता घटनाहरु धेरै रिपोर्ट गरिएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!