महिलासँग डरलाग्ने अनौठो रोग, ५५ वर्षदेखि तारबार लगाएर घरभित्रै छन् यी व्यक्ति

Posted on: 18 Oct, 2023

कार्तिक १, काठमाडौँ | संसारमा कतिपय मानिसहरुमा अनेक खालका वस्तु तथा विषयहरुसँग डर लाग्ने अनौठो समस्या हुन्छ । कसैलाई पानीसँग डर लाग्छ भने कोही नयाँ मान्छेसँग भेटघाट गर्न डराउँछन् । अफ्रिकी महादेशको रुवान्डा देशका एकजना पुरुषलाई भने महिलासँग डर लाग्ने अनौठो समस्या छ।

७१ वर्षका क्यालिट्जे जामावितालार्य महिलासँग यतिधेरै डर लाग्छ कि उनी पछिल्लो ५५ वर्षदेखि महिलासँग लुकेर बसिरहेका छन् ।


कोही पनि महिलालाई नदेखियोस् र नभेटियोस् भन्नका लागि उनी १६ वर्षको उमेरदेखि आफ्नै घेरभित्र बन्दी बनिरहेका छन् । आफ्नो अगाडि कुनै पनि महिलालाई आउन नदिनका लागि उनले घरको चारैतर्फ १५ फुटको दूरीमा तारबार लगाएका छन् ।

स्थानीय सञ्चार माध्यमहरुसँग उनकी एक छिमेकी महिलाले बताए अनुसार क्यालिट्जे बच्चा हुँदाको बेलादेखि नै आफ्नो घरबाट विरलै निस्कने गर्दथे । तर अनौठो त के भने महिलासँग डराउने रोग रहेका ती वृद्ध महिलाकै कारण आजसम्म जीवित छन् ।

ती महिला भन्छिन्, ‘अनौठो कुरा छ । भलै उनी महिलाहरुसँग डराउँछन् तर हामीले नै उनलाई खानेकुरा दिन्छौं । उनी हाम्रो नजिक आउन मन पराउँदैनन् त्यसैले हामीले उनको घरमा लगेर खानेकुरा फ्याँकिदिन्छौं र हामी बाहिर निस्केपछि उनी आएर त्यो खानेकुरा उठाएर लग्दछन् । उनी हामीलाई आफ्नो नजिक आउन दिँदैनन् । तरपनि हामीले जे दिएता पनि उनले टाढैबाट लिन्छन् र खान्छन् ।’

आफ्नो घर बाहिरको तारबार नजिकै कुनै महिलालाई देख्दा समेत उनी दौडिएर घरभित्र जान्छन् र ढोका बन्द गरेर लुक्छन् । क्यालिट्जेलाई भएको यो मनोवैज्ञानिक रोगलाई वैज्ञानिक भाषामा गाइनोफोबिया भनिन्छ । यसमा मानिसलाई महिलादेखि डर लाग्छ । गाइनोफोबियाका लक्षणहरुमा महिलाहरुसँग अत्यधिक डर लाग्नुका साथै महिलाका बारेमा सोंच्दा मात्रैपनि त्रास उत्पन्न हुने समस्या देखिन्छ ।

चिन्ता तथा डरका कारण यो फोबियाले दैनिक जिवनमा पनि निकै समस्या उत्पन्न गर्दछ । यो फोबियाबाट पीडित मानिसहरुमा प्यानिक अट्याक, छाति दुख्ने, अत्यधिक पसिना आउने, मुटुको धड्कन बढ्ने तथा श्वास फेर्न गाह्रो हुने जस्ता समस्या आउने गर्दछन् । त्यस्तै अन्य लक्षणहरुमा पेट दुख्ने, पखाला लाग्ने तथा महिलाहरुको नजिक हुँदा वा महिलाहरुको बारेमा सोंच्दा बेहोसी महसुस हुने लगायतका रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!