विचित्र प्रतियोगिता: अल्छीको उपाधि जित्नका लागि २० दिनदेखि सुतिरहेका छन् प्रतिस्पर्धीहरु, जित्नेलाई डेढ लाख रुपैयाँ

Posted on: 12 Sep, 2023

एजेन्सी | उत्तरी मोन्टेनेग्रोस्थित रिसोर्टले भरिएको गाउँ ब्रेजनामा बर्सेनि एक विचित्र प्रतियोगिता हुन्छ । त्यहाँ मानिसहरु सबैभन्दा अल्छी नागरिकको प्रतिष्ठित उपाधि जित्नका लागि तछाडमछाड गर्दछन् । यो पटकको १२ औँ संस्करणको प्रतिस्पर्धामा सातजना अल्छीहरुले भाग लिएका छन् ।

एक हजार युरो पुरस्कार जित्नका लागि प्रतिस्पर्धा गरिरहेका सहभागीहरु २० दिनदेखि गुन्द्रीमा सुतिरहेका छन् र दिन कटाईरहेका छन् ।

 

ती सहभागीहरुले गत वर्षको ११७ घण्टाको रेकर्ड तोडिए पनि अझै बढीभन्दा बढी समयसम्म सबैभन्दा अल्छी बनेर यसैगरी पल्टिरहन चाहन्छन् र पुरस्कार जित्न चाहन्छन् ।

एकजना प्रतियोगी २३ वर्षीय फिलिप कनेजेविक यो पाला आफूले प्रतियोगिता जित्ने दाबी गर्दछन् ।

उनी भन्छन्, ‘हामीसँग आफूलाई चाहिने सबै कुरा यहाँ छन् । उपस्थित मानिसहको साथ गज्जबको छ, त्यसैले समय तीव्र गतिमा बितिरहेको छ ।

यो अल्छी प्रतियोगितामा उठ्न पाइँदैन र हरेक ८ घण्टामा १० मिनेटको बाथरुम छुट्टी पाइन्छ ।

प्रतिस्पर्धीहरुले खाने, पिउने, पढ्ने तथा फोन र ल्यापटप प्रयोग गर्न पनि पाउँछन् । तर उनीहरुले यी सबै काम सुतेरै गर्नु पर्दछ ।

प्रतियोगिताका आयोजक तथा रिसोर्ट मालिक रेडोन्जा ब्लागोजेविकका अनुसार मोन्टेनेग्रोका मानिसहरु अल्छी हुन्छन् भन्ने आम धारणालाई चिर्नका लागि १२ वर्षअघिबाट उक्त प्रतियोगिता गर्न सुरु गरिएको हो ।

यो पटकको प्रतियोगितामा सुरुमा २१ जना प्रतिस्पर्धी रहेकोमा सात जनामात्र बाँकी छन् । उनीहरु ४६३ घण्टादेखि पल्टिरहेको आयोजक बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!