पुनः सम्बन्धमा रहन आग्रह गर्दै पूर्व प्रेमिकाको कार्यालय बाहिर २१ घण्टासम्म घुँडा टेकेर बसेपछि...

Posted on: 17 Apr, 2023

एजेन्सी | एक युवक पूर्व प्रेमिकाको कार्यालय बाहिर २० घण्टाभन्दा बढी समयसम्म घुँडा टेकेर बसेका छन् । चीनको सिचुवान प्रान्तका ती युवकले आफूसँग पुनः सम्बन्धमा रहन  आग्रह गर्दै यसो गरेका थिए ।

दाझहाउ सहरमा रहेको पूर्व प्रेमिकाको कार्यालय बाहिर युवकले २१ घण्टासम्म घुँडा टेकेर बसेपछि उनी चीनको सोसल मिडियामा चर्चाको विषय बनेका छन् । ती युवक मार्च २८ तारिखमा दिउँसो १ बजेदेखि भोलिपल्ट बिहान १० बजेसम्म घुँडा टेकेर बसेको अडिटी सेन्ट्रलले बताएको छ । रातो गुलाफको बुके अगाडि राखेर सडकमा घुँडा टेकेर बसेका ती युवकलाई सुरुमा कसैले वास्ता गरेनन् तर घण्टौँ बितिसकेपछि भने मानिसहरूले उनलाई ‘किन यस्तो गरेको ?’ भनेर सोध्न थाले । पछि उनीबारे ठुलो जमातलाई थाहा भयो । 

‘घुँडा नै टेकेर बस्नु पर्दैनथ्यो । तिमी यत्तिका बेर बाहिर यसरी बसिराख्दा तिम्री प्रेमिका आइन् त ?’ ली थर भएका एक व्यक्तिले भने ।

त्यहाँ उपस्थित धेरै मानिसले उनलाई आफूलाई दुःख दिन बन्द गर्न आग्रह गरे तर उनले कसैले भनेको सुनेनन् । कसैले प्रहरीसमेत बोलाए तर प्रहरीले पनि उनलाई यसो गर्नबाट रोक्न सकेनन् ।

प्रेमिकाले उनलाई केही दिन अघि ब्रेक अप दिएको उनले भनेका छन् । उनी प्रेमिकाको माफी चाहन्छन् र पुनः सम्बन्धमा रहन आशावादी छन्,’ एक प्रहरी अधिकारीले भने ।

‘म यहाँ घुँडा टेकेर बस्नु कानुन विपरीत छ र ? यदि यो अवैधानिक होइन भने कृपया मलाई एक्लै छोडिदिनुहोस्,’ प्रहरीले उनलाई यसो गर्न रोकेपछि ती युवकले भने ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार ती युवक दुःखी हुँदै बुके लिएर फर्किए  । सायद उनले त्यहाँको चिसो त्योभन्दा बढी सहन सकेनन् । 

ती युवकको प्रेमिकासँग किन ब्रेक अप भयो भन्ने स्पष्ट जानकारी प्राप्त छैन । उनले २१ घण्टा घुँडा टेकेर बस्दा उनकी पूर्व प्रेमिका त्यहाँ थिइन् कि थिइनन् भन्ने पनि जानकारीमा उल्लेख छैन । यद्यपि, उनको व्यवहार धेरैलाई चित्त भने बुझेन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!