टी-२० विश्वकप खेल्ने नयाँ जर्सी : घोप्टो झण्डालाई लिएर बहस,पारस भन्छन्- पहिले पनि यस्तै थियो

Posted on: 09 Apr, 2024

चैत २७, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी टी-२० विश्वकपका लागि नयाँ जर्सी पनि सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको सोही जर्सी लगाएर नेपालले टी-२० विश्वकप खेल्नेछ । 

 खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको हातबाट जर्सी सार्वजनिक गरिएपछि तीव्र प्रतिक्रिया सुरु भएको छ ।

राष्ट्रिय टोलीका खेलाडीहरू विदेश भ्रमणमा रहेको अवसरमा क्यानले नयाँ जर्सी सार्वजनिक गर्‍यो । त्यसैले जर्सी सार्वजनिक कार्यक्रममा न राष्ट्रिय टोलीका कप्तान थिए न त अन्य खेलाडी नै । यसले जर्सी सार्वजनिक कार्यक्रमलाई केही खल्लो बनाउनु स्वाभाविक थियो ।  


अर्कोतिर, क्यानले सार्वजनिक गरेको नयाँ जर्सीको विषयमा पनि समर्थकहरूले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेका छन् । अधिकांश समर्थकले नयाँ जर्सीको विषयमा नकारात्मक टिप्पणी नै गरेका छन् । उनीहरूले नयाँ जर्सीभन्दा नेपालीले प्रयोग गर्ने पुरानो जर्सी नै राम्रो भएको टिप्पणी गरेका छन् ।

खास गरी नयाँ जर्सीमा प्रयोग गरिएको राष्ट्रिय झन्डाको विषयलाई लिएर सबैभन्दा बढी नकारात्मक टिप्पणी आएको छ । खेलाडीको काँधमा पर्ने गरी जर्सीको दुबैतर्फ राखिएको राष्ट्रिय झण्डा झुकेको जस्तो देखिन्छ । सोही विषयलाई लिएर सामाजिक सञ्जालमा नयाँ जर्सीको बढी विरोध भइरहेको छ । केहि समर्थकहरूले चाहिँ यसमा केही खराबी नभएको बताइरहेका छन् ।


नेपाल क्रिकेट संघ-क्यानका सचिव तथा पूर्व राष्ट्रिय कप्तान पारस खड्का झण्डालाई लिएर गलत व्याख्या भइरहेको बताउँछन् । उनले भने, ‘यसअघिको जर्सीमा पनि झण्डा यसरी नै प्रयोग हुँदै आएको थियो । नेपाली खेलाडीले काँधमा देशलाई बोकेर खेलिरहेका छन् वा हुन्छन् भन्ने अर्थमा यसलाई बुझ्नुपर्छ ।’

उनले हरेक कुरामा नकारात्मक सोच राखेर टीकाटिप्पणी नगर्न पनि आग्रह गरेका छन् । विश्वकप तयारीका लागि वेस्ट इन्डिज एसँग नेपालले ५ खेलको टी–२० शृङ्खला घरेलु मैदानमा खेल्दै छ । त्यसअघि एसीसी प्रिमियर लिग खेल्न खेलाडीहरू आज ओमान जाँदैछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!