पिएनजीलाई ८५ रनले हराउँदै नेपाल टि-२० सिरिजको फाइनलमा

Posted on: 12 Mar, 2024

फागुन २९, काठमाडौं | नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । 

नेपालका कुशल भुर्तेलले ४ विकेट लिए । प्रतिश जि.सीले २ विकेट लिए । गुलशन झा र आकाश चन्दले एक/एक विकेट लिए ।

त्यसअघि मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनका बनाएका थिए । सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए । अर्का ओपनर विनोद भण्डारीले २७ रन बनाएका थिए । रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भएका थिए । लोकेश बम  १४ रनमा रन आउट भएका थिए। विवेक यादव १९ रनमा नट आउट रहे । गुलशन झा १५ रनमा नट आउट रहेका थिए  ।

पपुवा न्युगिनीका असाद भालाले २ विकेट लिएका थिए ।   नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १-१ विकेट लिएका थिए  ।  यो जितसँगै नेपाल त्रिकोणात्मक टि-२० सिरिजको फाइनल प्रवेश गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!