नेदरल्यान्ड्ससँगको हारपछि रोहितले भने: ‘पावर प्ले र डेथ ओभरमा बलिङ प्लान फेल भयो. विश्वकपसम्म तयार हुन्छौं

Posted on: 05 Mar, 2024

फागुन २२, काठमाडौं | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा नेदरल्यान्ड्ससँग पराजित भएपछि नेपालका कप्तान रोहित पौडेलले पावर प्ले र डेथ ओभरमा बलिङ प्लान फेल भएको बताएका छन् ।

‘पावर प्ले र डेथ ओभरमा प्लान एक्जिक्युट नै भएन भनेपनि हुन्छ । मलाई लाग्छ, विश्वकपसम्म हामी यसमा तयार हुन्छौँ’, हारपछि रोहितले भने ।

नेपालले दिएको एक सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले तीन बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्दै उपाधि जितेको हो । नेपालले पावर प्लेको सुरुको ६ ओभरमा ६० रन दिएको थियो भने डेथ ओभरको एकै ओभरमा २१ रनसम्म खर्चिएको थियो ।

नेपाली टोलीका प्रशिक्षक मन्टी देसाईले टोलीले २० रन कम बनाएको बताए ।

प्रशिक्षक देसाईले परिस्थितिअनुसार खेल्न नसकेको र वन बल ब्याटललाई खेलाडीले विर्सिएको बताए ।

‘हामी ठूला प्रहारतर्फ लाग्यौं र विकेट पनि गुमायौं यसले गर्दा ब्याटिङमा हामी जहाँसम्म पुग्नु पर्ने थियो, त्यहाँ पुग्न सकेनौँ’, उनले भने । उनले नेदरल्यान्ड्सले विगतमा बलिया टोलीहरूलाई समेत हराएकोले कमजोर नभएको र यो हारले विश्वकपअघि टिमलाई तयार गर्ने अवसर पनि भएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!