गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै प्रधानमन्त्री कपमा आर्मीको सातौँ जित

Posted on: 01 Feb, 2024

माघ १८, काठमाडौँ | प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको छ ।

नवौँ खेल खेलेको आर्मी क्लबले हात पारेको यो सातौँ जित हो । दुई खेलमा भने आर्मी क्लब पराजित भएको थियो । नवौँ खेल खेलेको गण्डकी प्रदेशले भोगेको यो सातौँ हार हो । दुई खेलमा भने गण्डकी प्रदेश पराजित भएको थियो । गण्डकी प्रदेश यसअघि नै उपाधि होडबाट बाहिरिएको थियो ।


कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आर्मी क्लबले ३९.१ ओभरमा अलआउट हुनुअघि एक सय ३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले भने २३.४ ओभरमा अलआउट हुनुअघि ६४ रनमात्र बनाउन सक्यो ।

सामान्य विजयलक्ष्य पछ्याएको गण्डकी प्रदेशका ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर इश्वर क्षेत्रीले १६ रन बनाए । चौथो नम्बरका ब्याट्सम्यान करण पंगेनीले १५ रन जोडे । गण्डकी प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आर्मी क्लबका बलर साहब आलमले चार विकेट लिए । उनले सात ओभरमा दुई मेडन राख्दै केवल १७ रन खर्चिए । जितेन्द्र मुखियाले पनि दुई विकेट हात पारे । कुशल मल्लले पनि दुई विकेट लिए ।

त्यसअघि लिग चरणको आफ्नो अन्तिम खेलमा आर्मी क्लबका ब्याट्सम्यानले खासै गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान इमरान शेखले ३४ रन बनाए । उनले ६४ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । अर्का ओपनर सन्तोष कार्की भने केवल दुई रन बनाउँदै पेभेलियन फर्किए ।

अनुभवी खेलाडी भीम सार्की पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान विनोद भण्डारी पनि १९ रनमै आउट भए । सन्दीप रजाली र बसिर अहमदले त खातासम्म खोल्न सकेनन् । बिवेक यादब पनि एक रन बनाउँदै पेभेलियन फर्किए ।

तल्लो क्रमका ब्याट्सम्यान कुशल मल्लले टोलीको खातामा १५ रन थपे । सोमपाल कामीले २३ रन बटुले । उनले ३९ बलमा दुई चौका पनि हिर्काए । साहब आलमले अविजित १२ र जितेन्द्र मुखियाले आठ रन बनाए ।

आर्मी क्लबले अतिरिक्त रुपमा आठ रन पायो । गण्डकी प्रदेशका बलर बिपिन खत्री, कृष्ण पौडेल, अमृत गुरुङ र कमल परियारले दुई–दुई विकेट हात पारे । सन्दीप पराजुली र रोशन गौतमले पनि एक–एक विकेट लिए । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!