मेस्सी के सन् २०२६ को विश्वकप खेल्छन् ? प्रशिक्षक स्कालोनीले के भने ?

Posted on: 01 Dec, 2023

एजेन्सी |अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले पाँचपटक फिफा विश्वकप खेलिसके । उनले सन् २००६, २०१०, २०१४, २०१८ र २०२२ को विश्वकप खेल्दा अर्जेन्टिनाको दुई विश्वकप सम्झनालायक रह्यो ।

सन् २०१४ मा अर्जेन्टिना विश्वकपमा उपविजेता बन्दा मेस्सी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए, उनले प्रतियोगितामा चार गोल गरे । त्यसपछि सन् २०२२ मा अर्जेन्टिनाले मेस्सीको कप्तानीमा विश्वकपको उपाधि जित्यो । मेस्सीले कतारमा भएको विश्वकपमा पनि उत्कृष्ट खेलाडीको अवार्ड पाए, उनले प्रतियोगितामा ७ गोल गरे । 


पाँचपटक विश्वकप खेलिसकेका विश्वकप लगायत फुटबलमा पाउनुपर्ने सबै उपाधि पाएका मेस्सीलाई यतिबेला सबै समयका महान फुटबलर भन्न थालिएको छ । नम्बर एक खेलाडीको उपमा पाएका उनले अब सन् २०२६ को विश्वकप फुटबल खेल्छन् कि खेल्दैनन् होला ? भनेर यतिबेला प्रश्न गर्न थालिएको छ ।

मेस्सीले सन् २०२२ को विश्वकप अगाडि भनेका थिए कि उनले अन्तिमपटक विश्वकप खेल्दैछन्, उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने पनि अभिव्यक्ति दिएका थिए । तर विश्वकप जितेसँगै मेस्सीले राष्ट्रिय टोलीबाट सन्यास नलिने र च्याम्पियनको रुपमा खेलिरहने बताएका छन् ।

उनले अर्को विश्वकप खेल्ने विषयमा प्रस्ट केही भनेका छैनन् तर उनको लक्ष्य राष्ट्रिय टोलीबाट अर्को कोपा अमेरिकाको उपाधि जित्नु हो । त्यसो त उनले सन् २०२६ को विश्वकप छनौटका खेलहरू खेलिरहेका छन् । जसले उनी अर्को विश्वकप पनि खेल्न चाहन्छन् भने प्रस्ट हुन्छ । 

मेस्सीले सन् २०२६ को विश्वकप खेल्छन् कि खेल्दैनन् भन्ने प्रश्नमा अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले मेस्सी उक्त प्रतियोगिता खेल्ने विषयमा आफू विश्वस्त भएको बताएका छन् । स्कालोनीकै प्रशिक्षणमा अर्जेन्टिनाले कोपा अमेरिका र विश्वकप जितेको थियो । 

स्कालोनीले मेस्सीको विषयमा भनेका छन्,‘मेस्सीले सन् २०२२ को विश्वकप मनबाट खेले, उनलाई रोक्न मुस्किल थियो । उनलाई मैले नजिकैबाट हेरेको छु, उनको गुणको व्याख्या गर्न असम्भव छ । मैले मेस्सीलाई यो भनेको छु कि जबसम्म उनी मैदानमा खुसी हुन्छन् उनले खेल्न छाड्नु हुँदैन । मेस्सीले फुटबलमा उमेर, उचाई केहीको सीमा हुँदैन भनेर पुष्टि गरिसकेका छन् ।’

उनी थप भन्छन्, ‘मेस्सीले स्ट्राइकर, विंगर, मिडफिल्डर सबै भूमिकामा आफूलाई अब्बल सावित गरेका छन् । उनी जहाँ चाहन्छन् त्यहीँबाट खेल्न सक्छन् उनी टिमलाई बलियो बनाउँछन् । मलाई लाग्छ मेस्सीले राष्ट्रिय टोलीबाट खेलिरहनुपर्छ बाँकी निर्णयको अधिकार उनमै निहित छ ।’

३६ वर्षका मेस्सी हाल अमेरिकी क्लब इन्टर मायामीबाट खेलिरहेका छन् । उक्त क्लब र राष्ट्रिय टोलीका खेलहरूमा मेस्सीले अझै जादु देखाइरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!