यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा, यू-१९ प्रिमियर कप विजेता टोलीबाट तीन खेलाडी परिवर्तन

Posted on: 29 Nov, 2023

मङ्सिर १३, काठमाडौँ  | यू–१९ एसिया कप खेल्ने १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ।

एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट प्रशिक्षक जगत टमाटाले तीन खेलाडी परिवर्तन गरेका छन् । गुल्सन झासँगै ब्याटर विपिन रावल र स्पिनर तिलकराज भण्डारी टिममा समावेश भएका छन् ।

प्रिमियर कप र विश्वकप छनोट खेलेका दुर्गेश गुप्ता, मिलन बोहरा र दीपक बोहरा बाहिरिएका छन् । प्रिमियर कपको विजेताका रुपमा नेपाल एसिया कपका लागि छनोट भएको हो ।

गत अक्टोबरमा भएको प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको थियो । सुरुवातमा पाकिस्तानमा हुने भनिएको एसिया कप डिसेम्बर ८ देखि १७ सम्म यूएईमा हुनेछ । नेपाल रहेको समूह एमा अफगानिस्तान, भारत र पाकिस्तान छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!