केपी ओली कप: सुदूरपश्चिम प्रदेश मधेससँग ८ विकेटले पराजित

Posted on: 27 Nov, 2023

मङ्सिर ११, काठमाडौं | पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम टीमलाई ८ विकेटले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५८ रनको सामान्य लक्ष्य पछ्याएको मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

मधेसका ओपनर अनिल शाहले २५ रनको विष्फोटक इनिङ खेले । ११ बल खेलेका शाहले ३ चौका र २ छक्का प्रहार गरे । इम्रान शेखले ९ बलमा १७ र पवन सराफले ५ बलमा अविजित १७ रन बनाए । बलिङमा सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १५ ओभर ५ बलमा ५८ रनमै समेटिएको थियो । सुदूरपश्चिमलाई सस्तोमै समेट्न हरिशंकर शाहले ४ र रुपेश सिंहले ३ विकेट लिए । विशाल पटेल, प्रदीप पासवान र विशाल सुश्लिङले १-१ विकेट लिए । सुदूरपश्चिमका नरेन शाउदले सर्वाधिक १८ रन बनाए । मधेसका बलरसामु सुदूरपश्चिमका ब्याटर क्रीजमा जम्न सकेनन् ।

यो जितसँगै समूह सीमा मधेस प्रदेश र नेपाल पुलिस क्लबको २-२ अंक भएको छ । मधेससँग हारेको सुदूरपश्चिम अंकविहीन छ । मंगलबार हुने सुदूरपश्चिम र पुलिसबीचको खेलले सेमिफाइनलको टुंगो लाग्नेछ । यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!