भुर्तेलको शतकमा मधेश प्रदेशलाई ५७ रनले हराउँदै नेपाल पुलिसको विजयी सुरुवात

Posted on: 26 Nov, 2023

मङ्सिर १०, काठमाडौँ | पोखरामा जारी केपी ओली कप टी-२० प्रतियोगीतामा विभागीय टिम नेपाल पुलिसले आफ्नो विजयी सुरुवात गरेको छ ।

समूह सी को पहिलो खेलमा मधेश प्रदेशलाई ५७ रनले हराउँदै विजयी सुरुवात गरेको हो । पुलिसले दिएको १७६ रनको लक्ष्य पछ्याएको मधेश १८ ।२ ओभरमा अलआयट हुँदै ११८ रन मात्र जोड्न सक्यो ।

उसका लागि रुपेश सिंहले ४०, इमरान शेखले २२ तथा राकेश कामत र रोहन विकले समान १० रन जोडे । बलिङतर्फ पुलिसका करण केसी, रासिद खान, सागर ढकाल, र ललित राजवंशीले समान २ तथा कुशल भुर्तेल र सुनिल धमलाले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले ओपनर कुशल भुर्तेलको शानदार शतकको मद्दतमा १७५ रनको विशाल लक्ष्य खडा गरेको थियो , उसका लागि भुर्तेलले ५७ बलमा ७ छक्का र ८ चौका हिर्काउँदै १०२ रनको शतकीय पारी खेले । त्यस्तै अर्का ओपनर सुनिल धमलाले ४५ रन जोड्दा अलराउन्डर करण केसीले नटआउट १६ रन बनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!