अर्जेन्टिनाको प्रशिक्षण छोड्ने मनसायमा स्कालोनी

Posted on: 23 Nov, 2023

मङ्सिर ७, काठमाडौं | अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले राष्ट्रिय टिमको जिम्मेवारी छोड्न सक्ने बताएका छन् । बुधबार ब्राजिलविरुद्ध उसैको मैदानमा १–० को जित निकालेपछि स्कालोनीले राष्ट्रिय टिमको जिम्मेवारी छोड्ने विचार गरिरहेको बताएका हुन् ।

४५ वर्षीय स्कालोनी पाँच वर्षअघि अर्जेन्टिनाको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । स्कालोनीले कतार विश्वकपमा आफ्नो टिमलाई च्याम्पियन बनाएका थिए । उनले अर्जेन्टिनी टिमलाई सन् २०२१ को कोपा अमेरिकाको उपाधि समेत दिलाएका थिए ।


“अर्जेन्टिनालाई यस्तो प्रशिक्षकको आवश्यकता छ, जोसँग जोस र राम्रो गर्न सक्ने क्षमता होस्,” स्कालोनीले भने, “मैले अब यसबारे सोच्नुपर्छ । यसको अर्थ अहिले नै छोडिहाल्छु भन्ने होइन । तर, अब मैले सोच्न आवश्यक छ । किनकि, पछिल्लो समय यो राष्ट्रिय टिमसँग चलिराख्न र जित यात्रा कायम राख्न मुस्किल बन्दै गएको छ ।”

स्कालोनी २०१८ मा जर्ज साम्पाओलीको स्थानमा अर्जेन्टिनी टिमको जिम्मेवारीमा आएका थिए । त्यसअघि, उनी अर्जेन्टिनाको यू–२० टिमको जिम्मेवारीमा थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!