भोलि हुने यूएईविरुद्धको सेमिफाइनल खेल्लान् दिपेन्द्रले?

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देशाईँले चोटग्रस्त खेलाडी दिपेन्द्र सिंह ऐरीका बारेमा आफूहरु छलफलमै रहेको बताएका छन् ।

टी–२० विश्वकप छनोटको पहिलो खेल सिंगापुरविरुद्ध टस भइसकेपछि अभ्यास गर्ने क्रममा दिपेन्द्र घाइते भएका थिए । गोलीगाँठोमा चोट लागेको चौथो दिन उनले आज केहीबेर प्याड लगाएर नेटमा अभ्यास गरेका थिए ।


ओमानसँगको खेलपछि पत्रकारले दिपेन्द्रकाबारेमा सोधेको प्रश्नमा मोन्टीले उनलाई खेलमा फर्काउन विशेषज्ञहरुले जे ठीक हुन्छ त्यो गरिरहेको बताए ।

‘हामीले हरेक स्रोतहरु लगाइरहेका छौं । हरेक विशेषज्ञहरुले दिपेन्द्रको लागि के ठिक हुन्छ सबै थोक गरिरहेका छन्,’ उनले भने, ‘हामीले दिपेन्द्रको करिअरको बारेमा पनि सोच्नुपर्छ । हामी सामुहिक छलफलमै छौं ।’

देशाईँले दिपेन्द्रले भोलि शुक्रबार हुने यूएईविरुद्धको सेमिफाइनल खेल खेल्ने नखेल्ने बारेमा केही थाहा नभएको बताए ।

दिपेन्द्रले बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । उनले नेपालका लागि ५२ टी–२० आईमा १ हजार ३४४ रन बनाएका छन् । बलिङतर्फ उनले २५ विकेट पनि लिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!