ओमानसँगको कमजोरी सुधारेर भोलि यूएईसँग कमब्याक गर्नेछौं: प्रशिक्षक मोन्टी देशाईँ

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईँले टी-२० विश्वकप छनोटको सेमिफाइनल खेलमा कमब्याक गर्ने बताएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानसँग ५ विकेटले पराजित भएपछि पत्रकारसित कुरा गर्दै उनले टिमले वर्षभर गरेको मेहनत र विश्वासले सेमिफाइनलको खेलमा कमब्याक गर्ने बताए ।

‘हामीले यो वर्षभरी निकै मेहनत गरेका छौं,’ उनले भने, ‘ह्यापी ड्रेसिङ रुममा भएका सबै सदस्यहरुमा हामीलाई विश्वास छ । हामीले हाम्रो भूमिकाको बारेमा कुरा गरेका छौं । हामी भोलि हरेक कुरालाई सुधार गर्दै कमब्याक गर्नेछौं ।’


ओमानसँगको हारले खेलाडी र आफू पनि दुखित रहेको उनले बताए । ‘खेलाडी पनि दुखी छन्, खेलाडी भन्दा पनि फ्यान दुखी छन्,’ देशाईँले भने, ‘हामीसँग २४ घण्टा छ । हामी त्यो सुधारेर भोलि खेल्नेछौं । भोलि पुन एउटा मौका छ ।’

समहू एको आफ्नो अन्तिम खेलमा ओमानसँग ५ रनले हारेपछि नेपालले उपविजेता बनेर सेमिफाइनलमा यूएईसँगको भेट पक्का गरेको हो ।

ओमानले २ पटक टी–२० विश्वकप खेलेको छ । २०१६ र २०२१ मा विश्वकप खेलेको टिम भएकाले आजको खेलमा स्किल भर्सेस स्किलको प्रतिस्पर्धा देखिएको देशाईँले बताए । ‘हामीले हाम्रो विपक्षीलाई सम्मान गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुले दुई पटक टी–२० विश्वकप खेलेका छन् । उनीहरुसँग अनुभव छ ।’

नेपालको विशेषत ब्याटिङ फ्लप हुँदा आजको योजना विफल भएको प्रशिक्षक मोन्टीले स्वीकार गरे । ‘आज हाम्रो केही योजनाहरु विफल भएकै हुन् । हामीले विकेट सम्हालेर अन्तिम ओभरसम्म जानुपर्नेमा योजना अनुरुप भएन’, उनले भने ।

नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो । त्यो ओभरमा बिलाल खानको बलमा विवेक यादवले लगातार ३ छक्का हानेर नेपाललाई आशा देखाएका थिए । तर उनी चौथो बलमा आयान खानको हातबाट क्याच आउट भए । २४ बल खेलेका उनले ५ छक्काको मद्दतमा कुल ३९ रन बनाए ।

प्रशिक्षक देशाईँले यादवको प्रदर्शनको तारिफ समेत गरे । ‘नराम्रोमा पनि एउटा कुरा सधैं राम्रो हुन्छ । यो एउटा राम्रो उदाहरण हो । हामीले एउटा अर्को खेलाडी भेटाएका छौं,’ उनले भने, ‘नेपाल क्रिकेट भर्खरै सुरु भएको छ । हाम्रो फोकस भनेको नेपाललाई एउटा सम्पूर्ण क्रिकेट राष्ट्र बनाउने हो । त्यसैले आज विवेकको अप्रोच देखेर निकै खुसी छु ।’

आजको खेलमा माथिल्लो क्रमका ब्याटरहरु नचल्दा १४६ को सामान्य लक्ष्य पनि नेपालले भटाउन सकेन । आज ओपनर आशिफ शेख ५ रन बनाउँदै पभेलियन फर्किएका थिए । त्यसपछि तेस्रो नम्बरमा सोमपाल कामी ब्याटिङमा आएका थिए । उनले १२ रन बनाए ।

सोमपाल कामी अलराउण्डर रहेको भन्दै प्रशिक्षक देशाईँले उनलाई तेस्रो नम्बरमा ब्याटिङमा पठाउने निर्णय सही रहेको दाबी गरे ।

‘हामीले नम्बर ३ का लागि केही कुरा प्रमाणित गर्नुपर्छ जस्तो लाग्दैन,’ उनले भने, ‘सोमपाललाई पहिला पनि नम्बर ३ मा पठाएकै हो । हामीसँग ११ छन् र ११ जना नै ब्याटर नै हुन् । सोमपाल कामी एउटा अलराउन्डर हो, यो नभुलौं कि उसले एसिया कपमा राम्रो गरेको पनि हो ।’

नेपालले यूएईसँग भोलि शुक्रबार ११ बजे मुलपानी मैदानमा खेल्ने छ । छनोटको समुह बीका सबै खेल मुलपानी मैदानमा भएकाले यूएई यहाँको पिचसँग अभ्यस्त भइसकेको छ ।

छनोट प्रतियोगिताअघि नेपालले त्रिकोणात्मक शृंखलामा मुलपानीमा यूएई र हङकङविरुद्ध खेलेको थियो । तर पछिल्लो पिच र कन्डिसनमा यूएईले मुलपानीमा धेरै खेल खेलेको छ । आफूहरु पिच र कन्डिसनका बारेमा अनविज्ञ तर उत्साहित भएर मुलपानी जाने देशाईँले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!