विश्वकपमा आज : सेमिफाइनलमा पुग्न सङ्घर्षरत श्रीलङ्काको सामना गर्दै भारत

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपमा बिहीबार हालसम्म अपराजित रहेको एकमात्र टोली भारतले सेमिफाइनलमा पुग्न सङ्घर्षरत श्रीलङ्काको सामना गर्दै छ । उक्त खेल मुम्बईस्थित वानखेड स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । 

जारी विश्वकपमा आयोजक भारत सबैभन्दा बलियो टोलीको रूपमा देखिएको छ । दुई पटकको विश्वकप विजेता भारतले हालसम्म आफूले खेलेका ६ वटै खेलमा सफलता हात पारेको छ । भारतले जारी विश्वकपमा अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान, इङ्गल्यान्डजस्ता बलिया प्रतिद्वन्द्वीलाई हराइसकेको छ ।


६ खेलबाट १२ अङ्क जोडेको भारत तालिकाको दोस्रो स्थानमा आसिन छ । सात खेलबाट १२ अङ्क जोडेको दक्षिण अफ्रिका तालिकाको पहिलो स्थानमा छ । नेट रन रेटमा भारतभन्दा दक्षिण अफ्रिका निकै अगाडि देखिएको छ । जारी विश्वकपमा भारत र दक्षिण अफ्रिकाबिच खेल हुन बाँकी छ ।

यसको विपरीत पूर्वविजेता श्रीलङ्काले भने जारी विश्वकपमा निराशाजनक प्रदर्शन गर्दै आएको छ । आफूले खेलेका ६ मध्ये चार खेलमा श्रीलङ्काले हारको सामना गरेको छ । केवल दुई खेलमा मात्र श्रीलङ्काले जित हात पारेको छ । 

श्रीलङ्काले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्स र साविक विजेता इङ्ल्यान्डलाई मात्र हराउन सकेको छ । श्रीलंकाली टोली जारी विश्वकपको आफ्नो पछिल्लो खेलमा अफगानिस्तानसँग सात विकेटले पराजित भएको थियो । 

निरन्तरको हारपछि जारी विश्वकपमा श्रीलङ्काको सेमिफाइनल प्रवेश सम्भावना केवल प्राविधिक रूपमा मात्र बाँकी देखिएको छ । श्रीलङ्का चार अंकसहित तालिकाको सातौँ स्थानमा छ । हालसम्म जारी विश्वकपको उपाधि होडबाट बाहिरिने एकमात्र टोली भने बङ्गलादेश हो । 

भारत भने बिहीबारको खेलमा श्रीलङ्कालाई हराउँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्ने योजनामा छ । उक्त खेलमा विजयी भएमा भारत समूहगत चरणको दुई खेलअगावै सेमिफाइनलमा पुग्नेछ । यसका अतिरिक्त भारतले आफ्नो अपराजित छविलाई पनि कायमै राख्नेछ ।

भारत र श्रीलङ्काले यसअघि वानखेड स्टेडियममा १२ वर्ष पहिले भिडन्त गरेका थिए । सन् २०११ को एकदिवसीय विश्वकपको फाइनलमा यही रङ्गशालामा खेलिएको थियो । त्यो खेलमा भारतले श्रीलङ्कालाई हराउँदै दोस्रो पटक विश्वकपको उपाधि चुमेको थियो । 

जारी विश्वकपमा भारतीय टोली निकै सन्तुलित देखिएको छ । सुरुआती खेलहरूमा आफ्ना प्रभावशाली युवा ओपनर शुभमन गिलको अनुपस्थितिमै भारतीय टोलीले लगातार एकपछि अर्को सफलता हात पारेको थियो । 

त्यसपछि पछिल्ला खेलहरूमा भारतले आफ्ना अनुभवी अलराउन्डर हार्दिक पाण्डेयाले गुमाएको छ । खेलका क्रममा चोट लागेका कारण ३० वर्षीय हार्दिक मैदानभन्दा बाहिर छन् । श्रीलंकाविरुद्धको खेलमा पनि हार्दिक अनुपस्थित रहने प्रबल सम्भावना छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!