साउदीलाई ३०० रनले पराजित गर्दै नेपाल एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा

Posted on: 19 Oct, 2023

कात्तिक २, काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई फराकिलो अन्तरले पराजित गरेको छ । मलेसियामा भइरहेको खेलमा ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरबले १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।

योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नुपर्नेछ । साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए ।


यसअघि मलेसियाको युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनाएको थियो । नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनले १४२ रन बनाएर आउट भए । अर्का ब्याटर आकाश त्रिपाठीले ८९ रनको महत्वपूर्ण योगदान गरे भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।

चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रेले १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई/दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक/एक विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!