भारतसँग सम्मानजनक पर्दर्शन गरेको नेपालको यात्रा क्वार्टरफाइनलमै टुंगियो, २३ रनले पराजित

Posted on: 03 Oct, 2023

असोज १६, काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । जीतका लागि दुई सय तीन रनको लक्ष्य पाएको नेपालले ९ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो । 


नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाए भने सन्दीप जोरा र कुशल मल्लले २९–२९ रनको योगदान दिए । ओपनर कुशल भुर्तेल २८ रन बनाएर आउट भए ।

टस जितेर नेपालबिरुद्ध पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाई दुई सय २०२ रन बनाएको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले १०० रन बनाए । जैसवाल र रुतुराज गाइकवाडले ओपनिङ विकेटका लागि १०३ रनको साझेदारी गरेका थिए । गाइकवाड २५ रन बनाउँदै आउट भए ।

त्यस्तै भारतको स्कोरको लागि शिवम दुबेले अविजित २५ रन र रिन्कु सिंहले अविजित ३७ रन बनाए । नेपालको लागि बलर दीपेन्द्र सिंह ऐरीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक—एक विकेट लिए । 

आजको खेलमा पराजित भएसंगै नेपाल १९औँ एसियाली खेलकुद प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!