काठमाडौंमा अवतरणको क्रममा मलेसियन एअरको विमानमा धुँवा, सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको आकलन

Posted on: 17 Feb, 2023

फागुन ५, काठमाडौँ | काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणलगत्तै मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको मलेसियन एअरको विमानबाट धुँवा आएको छ । आज मध्यान्ह अवतरणको क्रममा विमानको ल्याण्डिङ गियर (पाङ्ग्रा) बाट धुँवा आएको बताइएको छ ।


उक्त एअरको कल साइन एमएच १७० विमान सवा १२ बजे विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालय स्रोतले बताएको छ । सो क्रममा विमानको पाङ्ग्रा रनवेमा अत्यधिक घर्षण भएकाले धुँवा आएको प्राविधिकहरुको भनाइ छ ।

त्यसपछि विमानमा आगलागीको सम्भावना भएको जनाउँदै विमानस्थलस्थित वारुणयन्त्र र फायर फाईटिङ टोलीले पानी हालेर पाङ्ग्रा चिस्याएको हो । विमानको अन्य अवस्था सामान्य रहे पनि १ बजे क्वालालम्पुर फर्कनुपर्ने विमानको अहिले परीक्षण भइरहेको छ । 

विमानमा ११८ जना यात्रु थिए । विमानको पूर्ण प्राविधिक परीक्षणपछि मात्रै उडान गरिने भएकाले क्वालाम्पुर जाने यात्रुहरु विमानस्थलको प्रस्थान कक्षमा अड्किएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!