‘नापतौल कार्यालय नहुँदा नेपालगञ्ज जान बाध्य’

Posted on: 05 Feb, 2023

माघ २२, काठमाडौँ | दाङमा नाप तौलको कार्यालय नहुँदा उद्योगी तथा व्यवसायी नेपालगञ्ज पुगेर नापतौलका सामग्री जाँच तथा नवीकरण गर्नुपर्ने बाध्यता छ । 

जिल्लामा गुणस्तर तथा नाप तौलको कार्यालय नहँुदा नापतौलका सामग्री जाँच तथा नवीकरणका लागि  नेपालगञ्जसम्म जानुपर्ने बाध्यता रहेको घोराही सुनचाँदी व्यवसायी समितिका अध्यक्ष विनोद विकले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज जानुपर्दा आर्थिक तथा समयको खर्च हुनुका साथै सामान हराउने गरेको छ । 

“सुन चाँदी व्यावसायीले हरेक वर्ष जाँच तथा नवीकरण गरिनुपर्ने बाध्यता छ, नवीकरण नगरेमा जरिवाना लाग्छ, जाँच तथा नवीकरणका लागि जिल्लामा सुविधा छैन”, उहाँले भन्नुभयो ।

नेपालगञ्ज जाँदा आफ्नो सवारी नहुनेलाई दुई दिनसम्म लाग्ने उद्योगी तथा व्यवसायी बताउँछन् । 

जिल्लामा नापतौलको कार्यालय भएमा व्यावसायीलाई सहज हुने अध्यक्ष विकको भनाइ थियो । आफुहरुले समस्याका बारेमा पटक–पटकसम्बन्धित निकायमा जानकारी गराए पनि समाधान नभएको उहाँले बताउनुभयो ।

“नापतौलका सामग्री धेरै प्रयोग हामीले गर्दछाँै, कति बेला बिग्रिन्छ थाहा हुँदैन, नयाँ किनेका सामग्री ३५ दिनभित्र दर्ता गर्नुपर्ने व्यवस्था छ । दर्ता गर्नका लागि नेपालगञ्ज जानुपर्छ” गल्ला तथा किराना व्यवसायी समिति घोराहीका अध्यक्ष विनोदप्रसाद पाण्डेले भन्नुभयो ।

उहाँले ३५ दिनपछि गएमा दर्ता तथा नवीकरणसमेत नहुने बताउनुभयो । “जिल्लामा कार्यालय छैन टाढा जानुपर्ने बाध्यता छ, समयमा जान सकिएन भने दर्ता हुदैन” उहाँले भन्नुभयो । 

उद्योगी तथा व्यवसायीले समस्याका बारेमा सम्बन्धित निकायमा, मन्त्री, सांसद, राजनीतिक दललगायतलाई जानकारी गराए पनि समस्याको समाधान नभएको व्यापारीको भनाइ छ ।

जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कसिंह बुढाथोकीले जिल्लामा गुणस्तर तथा नापतौलको कार्यालय स्थापनाका लागि आफुहरुले सम्बन्धित निकायमा निरन्तर प्रयास जारी राखेको बताउनुभयो । “हामीले लामो समय देखि आवाज उठाउदै आएका छौँ, जिल्लामा मात्र नभइ साविक राप्ती अञ्चलमा नै नापतौलको कार्यालय छैन”, उहाँले भन्नुभयो । 

उद्योगी, व्यावसायीको सहजताका लागि उद्योग वाणिज्य सङ्घले नापतौल कार्यालयसँग समन्वय गरेर समय–समयमा शिविर सञ्चालन गदै आएको उहाँले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!