पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

Posted on: 29 Jan, 2023

माघ १५, पोखरा | अभिनेता पल शाहलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएको छ । गत बिहीबार सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणीको मुद्दामा अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने भन्दै निवेदन दर्ता गरेको हो ।


पलका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार गत भदौ २१ गते बलात्कारको मुद्दामा पललाई सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता भएको हो । अदालतले बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

यो फैसलाविरुद्ध पलले उच्च अदालतमा पुनरावेदन गरिसकेका छन् । यो मुद्दाको सुनुवाइ मिति भने तोकिएको छैन ।

जबर्जस्ती करणीकै मुद्दामा पलले तनहुँ जिल्ला अदालतबाट भने माघ ३ गते सफाइ पाएका छन् । सहयोगी भूमिका खेलेको भनिएका कृष्ण जोशीले पनि तनहुँ अदालतबाट सफाइ पाइसकेका छन् ।

नाबालिकालाई बलात्कार गरेको आरोपमा गत फागुन ११ गते उनका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवपरासी पूर्व (नवलपुर)मा पलविरुद्ध उजुरी दिएका थिए । त्यसपछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!