बालबालिकाको सुरक्षा गरीदिन स्वराडका जनताको आग्रह

Posted on: 05 Sep, 2016

नरी बडु/भदौ २०, बैतडी । चितुवाको आतंकीत क्षेत्रका रुपमा चिनिने बैतडीको तल्लोसोराड क्षेत्रका बालबालिका असुरक्षीत भएपछि सुरक्षा गरीदिन स्वाराडका जनताले स्थानीय प्रशासन संग आग्रह गरेका छन् ।

०७३ भाद्र २० गते बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीलाई भेटी उनिहरुले बालबालिकाको सरक्षा गरीदिन आग्रह गरेका हुन् । जिल्लाको तल्लो स्वराड क्षेत्रमा दुई वर्ष यता चितुवाले २२ जनाको ज्यान लिईसकेको छ । 

जसमध्ये २० जना बालबालिका छन् । भने दुई महिलाको चितुवाको आक्रमणमा परि ज्यान गएको छ । ०७३ भाद्र महिनाको २० गते सम्ममा मात्रै चितुवाले दुई बालिकाको ज्यान लिएको छ । आगनमा खेलिरहेको अवस्थामा उदयदेव गाविसमा वडा नं. २ र ९ का ७ वर्षिय चन्चला चन्द र ४ वर्षिय अञ्जली चन्दको चितुवाको आक्रमणमा परी ज्यान गएको छ ।

उक्त क्षेत्रमा आतंक मच्चाईरहेको नरभक्षी चितुवा मार्न ०७३ भाद्र १९ गते स्थानीय प्रशासनले १५ जनाको प्रहरी टोली हतियार सहित खटाएको छ । टोलीले ०७३ भाद्र २० गते बिहानै देखि आफ्नो कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले बताए ।

आईतबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियार सहित १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए । सोही निर्णय अनुसार हतियार सहितको प्रहरी टोली तल्लोस्वराडको उदयदेवमा पुगेको प्रहरी नायव उपरीक्षक राणाले जानकारी दिए ।

उक्त क्षेत्रमा चितुवाले दिनानुदिन बालबालिकाको ज्यान लिन थालेपछि बाहिर जान समेत समस्या भएको स्थानीय करन दयालले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!