मनाङको क्षतिबारे सिँचाइले ऊर्जालाई प्रतिवेदन बुझायो

Posted on: 29 Aug, 2021

नवीन लामिछाने । भदौ १३, मनाङ (रासस)। गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले सिँचाइ तथा खानेपानीलगायत योजनामा पुर्याएको क्षतिको विवरण सङ्कलन गरी प्रतिवेदन तयार पारिएको छ । सिंचाई तथा खानेपानी डिभिजन कार्यालयले प्रतिवेदन तयार पारेको प्रतिवेदन गण्डकी प्रदेशस्थित ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा बुझाइएको छ । 

बाढीपहिराका कारण क्षतिग्रस्त सिँचाइ तथा खानेपानीको संरचना पुनःनिर्माणका लागि लागत अनुमान तयार गरिनाका साथै सिँचाइको सम्भावनासमेतको  प्रतिवेदन तयार पािरएको कार्यालय प्रमुख ढाकाराम आचार्यले जानकारी दिनुभयो ।  

“एक दिनको बाढी र पहिराले धेरै क्षति पुर्यायो । विवरण सङ्कलन तथा सम्भाव्यता अध्ययनका लागि लामो समय लाग्यो । गत असार १ गतेपछि पनि वर्षा नरोकिँदा बाढी आउनेक्रम जारी रह्यो । मनसुनी वर्षा सँगै मस्र्याङ्दी नदीको बाढीका कारण तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । संकलित तथ्याङ्क मन्त्रालयमा बुझाएका छौँ । छिटै समाधान हुनेमा मनाङवासीसहित हामीले पनि अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । 

सिँचाइ तथा खानेपानीको मुहान तथा भौतिक संरचनालाई नदीको कटानबाट बचाउन र चालू आर्थिक वर्षमा उपलब्ध बजेटको सीमाभित्र रही अल्पकालीन तथा दीर्घकालीन समस्या समाधानका लागि सम्बोधन गराउने प्रयत्न गरिएको प्रमुख आचार्यले बताउनुभयो । 

बाढीपहिराबाट बढी असर पु¥याएको नासों गाउँपालिकाका तालबजार, सिरान ताल, खोत्रो, धारापानी, थोचें, बगरछाप र दानाक्यू, चामेका तिमाङ, थान्चोक, कोतो र चामे बजार तथा  ङिस्याङका भ्राताङ, पिसाङसम्मका बस्तीका साथै विद्यालय, सार्वजनिकस्थल,खानेपानी र सिँचाइका क्षतिको पहिचान र पुनःस्थापनाका लागि अल्पकालीन र दीर्घकालीन उपायसहित प्रतिवेदन तयार पारिएको हो ।

डोना खोला,  धारापानी, ग्वा खोला, स्यार्कु खोला, चामे र सब्जे खोला लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ । तीमध्ये  नासों र चामेको  पूर्णरूपमा र ङिस्याङको लघुजलविद्युत् आयोजनामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ । 

नदी र खोला किनारमा रहेकाले बाढीको कटानले पावर हाउस, इन्टेक र फोर वे पूर्णरुपमा क्षति भएको छ । भर्खरै मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि जिल्लावासीका लागि लघुजलविद्युत् नै आधारभूत ऊर्जाको स्रोत भएकाले  मन्त्रालयबाट ऊर्जासम्बन्धी विज्ञ टोली परिचालन गरी लागत र सम्भाव्यता अध्ययन गराइएको  र सोहीबमोजिम योजना सञ्चालन गर्ने तयारी भइरहेको प्रतिवेदनमा उल्लेख छ । 

नासोंको थोंचे, घेलाञ्चोक ओडार, धारापानी र नाचे खानेपानी आयोजना तथा  चामेको थान्चोक र बृहत् चामे खानेपानी आयोजनामा क्षति पुगेकाले  मर्मत तथा पुनःनिर्माण गर्नुपर्ने भएको छ भने  ङिस्याङको पिसाङ, घ्यारु, खाङ्सार र ढिकुरपोखरी खानेपानी आयोजनामा पूर्ण क्षति भएको छ । 

 खाङ्सार, ताचै, क्युपार, भ्राताङ, सब्जे र क्युबँेसी सिँचाइ योजनामा बाढीले क्षति पुर्याएकाले ती  योजनाको मर्मतसम्भार र पुनःनिर्माणका लागि पनि मन्त्रालयलाई जानकारी गराइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!