सुजिता भण्डारी प्रकरण सेलाउन नपाउंदै चितवनमै अर्की युवती बेपत्ता, प्रेमी पक्राउ

Posted on: 07 Jul, 2021

असार २३, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत अवस्थामा भेटिएको घटना सेलाउन नपाउंदै पूर्वी नवलपरासीबाट एक युवती हराएकी छिन् ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएकि उनको परिवारले जनाएको छ । परिवारको उजुरीका आधारमा प्रहरीले खोजी गरेसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान गरिएको छ । 

तर, अहिलेसम्म बिनाको अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ । गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष पढ्ने बिना कँडेलसँगै बाइक चढेर घरबाट गएकि थिइन । 


भरतपुर–४ यज्ञपुरीका युवक कँडेलसँग उनी प्रेम सम्वन्धमा रहेको बिनाको परिवारले पनि स्वीकार गर्दै आएको छ । बिना र प्रवेश दुवैले आफ्नो फेसबुक आइडीमा रिलेसनसिपमा रहेको इन्फो राखेका छन् । उनी बिनाको घरमा आउ–जाउ गर्दथे । नौ महिना जति बेलायत बसेका ती युवक दाजुको बिहेमा सहभागी हुने भन्दै बैशाखमा नेपाल आएका थिए ।

ती युवकको घर नजिककै एक अर्की युवतीसँग पनि नजिक सम्वन्ध रहेको आशंका भएपछि बिनाले नै ती युवतीसँग भेटाउन र कुरा गराउन प्रवेशलाई आग्रह गरेको खुल्न आएको छ । उनीहरु ती युवतीको घर नजिकैको चौरमा बसेर कुराकानी गरेको बयान प्रवेशले प्रहरीलाई दिएका छन् । त्यहाँ युवतीको मोबाइलसमेत फुटेको भेटिएको गैंडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन् ।

सोही दिन उनीहरुबीच खटपट भएपछि बिना त्यहाँबाट हिंडेकी थिइन् । सोहीदिन ती युवकलाई छक्काएर बिना वेपत्ता भएको युवकले बताउँदै आएको प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक खनालले कँडेललाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको बताइन् । प्रहरीले प्रवेशसँगै दुई युवा, ती युवती र प्रवेशको परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरी अनुसन्धान गरिरहेको छ ।

‘केटीको घर मात्रै गैंडाकोट हो, घटना सबै चितवनमा भएकाले चितवन प्रहरीले नै यसको अनुसन्धान गरिरहेको छ’ खनालले भनिन्, ‘हामीले केटीको घरतिर र अन्य आसपासका ठाउँमा खोजी गरिरहेका छौं ।’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले घटनाको छानविन भैरहेको बताए । उनले नवलपुर प्रहरी र चितवन प्रहरीको समन्वयमा नै अनुसन्धानलाई अघि बढाइएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!