कर्मचारीलाई कार्यक्षेत्र नछोड्न मन्त्री नेम्बाङको निर्देशन

Posted on: 09 Jun, 2021

कमल घिमिरे। २६ जेठ । पाँचथर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री  वसन्तकुमार नेम्बाङ्गले मातहतका कर्मचारीहरुलाई सामान्य अवस्थामा एकदिन पनि कार्यक्षेत्र नछोड्न निर्देशन दिनुभएको छ ।

 मंगलबार र बुधबार दुईदिन चलेको भर्चुअल नियमित समिक्षा गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङ्गले कार्यालय प्रमुखहरु नियमित कार्यक्षेत्रमा रहँदा त्यसको सकारात्मक प्रभाव कार्यप्रगतिमा देखिने भन्दै यस्तो निर्देशन दिनुभएको हो । 

उहाँले यस बर्ष मनसुन चाडो हुने पूर्वानुमान भएकोले त्यसबाट राजमार्गहरुमा आउन सक्ने अवरोधहरु व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, 'यस पटक मनसुन चाडो हुने पूर्वानुमान गरिएको छ । मनसुनका कारण राजमार्गहरु अवरुद्ध हुदाँ समयमै व्यवस्थापन गर्न सकेनौ भने जनजीवन प्रभावित हुन्छ । नागरिकले कष्ट पाउँछन् । अवरोध हुन सक्ने देशैभरका सम्भावित स्थानहरुमा इक्विपमेण्टहरु तैनाथ गर्नुहोला । हामीसंग उपलब्ध इक्विपमेण्ट अपुग भए भाडामा लिएर भएपनि व्यवस्थापन गर्नुपर्छ । '

उहाँले नयाँ आयोजना निर्माणका साथै राजमार्ग मर्मत संभारलाई समेत विशेष ध्यान दिनुपर्ने भन्दै राजमार्गहरु खाल्डाखुल्डी रहित बनाउनु पर्ने बताउनु भयो । 

उहाँले प्रगति विवरणहरु आशातित नभएपनि उत्साहजनक भएको बताउनु भयो । उहाँले भन्नु भयो, 'प्रगति विवरणहरु आशातित नभएपनि उत्साहजनक छ । आर्थिक बर्षको अझै केहिदिन बाँकी छ । प्रगति प्रतिशत बढाउन अधिकतम प्रयत्न गर्नु होला । '

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले समेत धारणा राख्नु भएको थियो । 

गोष्ठीमा सडक डिभिजन प्रमुखहरुले हालसम्मका आर्थिक, भौतिक प्रगति तथा बेरुजु फस्यौटको अवस्थाबारे प्रस्तुती राख्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!