बाँकेमा ५४६ फरार अभियुक्त पक्राउ

Posted on: 18 Mar, 2021

चैत ५, बाँके ।  जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षमा ५४६ फरार अभियुक्तलाई पक्राउ गरेको छ । बुधबारमात्रै प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त बमबहादुर सार्कीलाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका– ६ निवासी प्रेमबहादुर थापाको हत्या अभियोगमा अदालतले २०७७ कात्तिक २४ गते कर्तव्य ज्यान मुद्दामा दुई महीनाको सजाय सुनाएपछि उनी फरार थिए ।

प्रहरीले छुट्टै टोली नै खटाएर फरार अभियुक्तलाई पक्राउ अभियान चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा १०० जति अभियुक्तले अदालतमा पुगेर आत्मसमर्पण गरेका छन् । भारतमा लुकेर बसेका केही व्यक्तिलाई नियन्त्रणमा लिनका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको छ । प्रहरीको बाँकेमा एक हजार यस्ता फरार अभियुक्त पक्राउ गर्ने योजना छ ।

पक्राउपर्ने फरार अभियुक्तमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, कुटपिट, लुटपाट, बलात्कार, जुवातास, बहुविवाहलगायतका घटनामा संलग्न व्यक्ति रहेको प्रहरी उपरीक्षक रानाले जानकारी दिनुभयो ।

 फरार अभियुक्त पक्राउसँगै लागुऔषध, शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रणलाई पनि प्राथमिकताका साथ राखिएको प्रहरी उपरीक्षक रानाको भनाइ छ । भारतसँगको खुला सीमा जोडिएको हुँदा हुनसक्ने सीमा अपराध, चोरी, निकासी तथा पैठारी नियन्त्रणमा पनि प्रहरी सक्रियता रहेको रानाले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!