मिर्गौला पीडितलाई साढे दुई लाख सहयोग

Posted on: 20 Aug, 2020

कृष्ण न्यौपाने । भदौ ४, दमौली । तनहुँको म्याग्दे गाउँपालिका दभुङ घर भई हाल व्यास नगरपालिका–४ बस्ने दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठको उपचारका लागि विदेशबाट साढे दुई लाख सहयोग जुटेको छ ।

दभुङ घर भई हाल रोजगारीका क्रममा विदेशमा रहेका नेपालीबाट मिर्गौला पीडित श्रेष्ठको उपचारका लागि रु दुई लाख ५० हजार दुई सय एक सङ्कलन भएको हो । मिर्गौला पीडित श्रेष्ठको उपचारमा सहयोग पुर्याउन हालैमात्रै गठन भएको म्याग्दे दमौली सम्पर्क समाजको पहलमा सङ्कलित उक्त रकम पीडित श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । उक्त रकम समाजका संयोजक भाग्यशाली ढुङ्गाना, उपसंयोजक मनिराज थापा, सचिव पदम कुमार श्रेष्ठ, सन्तकुमार श्रेष्ठ, सुमन श्रेष्ठ लगायतले हस्तान्तरण गर्नुभएको छ । 

दभुङ घर भई कतारमा रहेकाबाट रु ५४ हजार ८ सय ८६, मलेसियामा रहेकाबाट रु ४९ हजार ८ सय ३६, दुवईमा रहेकाबाट रु २५ हजार चार सय, साउदीमा रहेकाबाट रु २१ हजार चार सय, कुवेतमा रहेकाबाट रु १२ हजार सात सय २७, बहराइन र ब्रुनाईमा रहेकाबाट रु १४ हजार २५ गरी रु एक लाख ७८ हजार ८९ सङ्कलन भएको थियो ।

त्यस्तै मलेसियामा कार्यरत महेन्द्रकुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, गणेश कुमार श्रेष्ठ लगायतको पहलमा कम्पनीमा कार्यरत नेपालीहरुबाट रु ३३ हजार सात सय ५४, मलेसियामै कार्यरत प्रताप श्रेष्ठ र धननारायण श्रेष्ठको पहलमा रु २४ हजार दुई सय ३८ र कतारमा कार्यरत अविनाश श्रेष्ठको पहलमा रु १४ हजार एक सय २९ गरी रु ७२ हजार एक सय २२ सङ्कलन भएको थियो ।

ब्रुनाई स्थित गोरखा रिजर्भ युनिटमा कार्यरत रेशम श्रेष्ठले दुवै मिर्गौला फेल भएको खबरले सबै दभुङका दाजुभाईहरु चिन्तित भएको हुँदा उहाँको उपचारको लागि सहयोग जुटाउन विदेशमा समन्वय गरिने बताउनुभयो । 

यसैगरी मिर्गौला फेल भएर बाबु गुमाएका तनहुँको व्यास नगरपालिका–५ रानीटारीका एक दाजुबहिनीले मिर्गौला पीडितलाई आर्थिक सहयोग गर्नुभएको हो । रोजगारीको क्रममा हाल कोरियामा रहनुभएका मोहन बराली र दमौलीमा रहनुभएका करिश्मा बरालीले व्यास नगरपालिका–४ का मिर्गौला पीडित रामलाल श्रेष्ठलाई रु १० हजार एक सय पाँच सहयोग गर्नुभएको हो ।

कुशेऔंशीको अवसर पारेर उहाँहरुले मिर्गौला पीडित श्रेष्ठलाई उक्त रकम सहयोग गर्नुभएको हो । उक्त रकम करिश्मा बरालीले बुधबार मिर्गौला पीडित श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । उहाँहरुको बाबुको मिर्गौला फेल भएपछि पाँच वर्ष अघि मृत्यु भएको थियो । “बुबाको सम्झनामा बुबा सरहको व्यक्तिलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ,” मोहनले भन्नुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!