कालिकोट जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदी राख्दा समस्या

Posted on: 29 Dec, 2017

पुस १४, कालिकोट । जिल्ला कारगारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएपछि समस्या भएको छ । २५ जनाको क्षमता भएको यस ‘घ’ श्रेणीको कारागारमा ४० जना कैदी, ११ जना थुनुवा रहेका छन् भने एक बालिका आश्रित गरी जम्मा ५२ जना कैदीबन्दी रहेका छन् । महिला कैदीहरु तीनजना मात्र भएकाले त्यति समस्या नभए पनि पुरुष कैदीबन्दीहरु दुई गुणा बढी भएकाले व्यवस्थापनमा समस्या आएको जेलर मोहनप्रसाद शर्माले बताए ।

‘२०३२ सालमा बनेको कारगार भवनको अति जीर्ण अवस्था भएका कारण ०७३ चैत १३ गते एकजना कैदी भागेर गएको थिए’ उनले भने, ‘क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले विभिन्न समस्या आउने गरेको छ ।’ जीर्ण अवस्थाको भवन भिडभाड गरी बस्नुपरेको तिलागुफा नगरपालिका निवासी कैदी लक्ष्मण शाहीले गुनासो पोखे । ‘खानेपानी, खेल, मनोरञ्जनका सामग्रीसमेत छैनन्’ उनले भने, ‘हामी धेरै भएका कारणले झन् समस्या रहेको छ ।’


जिल्ला कारागारमा एकजना हेल्थ असिष्टेन्टको दरबन्दी भए पनि दुई वर्ष अगाडिदेखि दरबन्दी रिक्त रहेकाले उपचार गर्नलाई समस्या हुने गरेको छ जेलर शर्माले बताए । उनले भने, ‘कैदी तथा थुनुवाहरु समान्य बिरामी हुँदा पनि उपचारको लागि जिल्ला अस्पतालमा पुर्याउनुपर्ने बाध्यता रहेको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!