सल्यानमा परम्परागत मेलामा जुवा तथा मदिरामा प्रतिवन्ध

Posted on: 27 Oct, 2017

शंकर केसी/कात्तिक १०, सल्यान । सल्यानका विभिन्न स्थानमा लाग्ने परम्परागत मेलामा जुवा तथा मदिरामा प्रतिवन्ध लगाइएको छ । 

स्थानीय तहका जनप्रतिनिधीहरुले निर्णय गरेर नै मेलामा जुवा खेल्न र जाँड रक्सी विक्रि वितरण, सेवनमा रोक लगाएका हुन् । यस अघिका वर्षहरुमा लाग्ने प्रायः सबैजसो मेलामा लाखौँ रुपैयाको जुवा चल्ने गर्दथ्यो । प्रहरी समेत जुवा हेरेर बस्ने गर्दथ्यो । जिल्लाको रुम्टीलेख मेला, दहबन मेला लगाएत परापूर्व कालदेखि लाग्दै आएका मेलामा खुलेआम ख्वारख्वारे जस्ता खेल चल्दथे ।

मेलामा युवाहरुले जाँडरक्सी सेवन गरेर लडाइ झगडा समेत गर्ने र नशाको जोशमा लाखौ रुपैया जुवा खेलेर हार्ने क्रम बढेपछि सथानीय सरकारका जनप्रतिनिधीहरुले जुवा तास र मदिरामा प्रतिबन्ध लगाएका हुन् । हिजो आज लाग्ने मेला शान्त देखिने गरेको स्थानीयहरुले बताएका छन् ।

कोहि कसैले पनि जुवामा धनसम्पत्ती गुमाउन नपरोस् र शान्त अनी सभ्य समाज निर्माण होओस् भन्ने चाहनाको साथ आफ्नो गाउँपालिकाका सबै मेलामा जुवा र मदिरामा प्रतिबन्ध लगाइएको छत्रेश्वरि गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताए ।


उनले भने– ‘हाम्रो गाउँपालिकाको छाँयाछेत्र, लेखपोखरा, दमाचौर लगाएतका स्थानमा मेला लाग्ने गर्छ, ती सबै मेलामा कुनै पनि किसिमको जुवा खेल्न र जाँडरक्सी खान, बेच्न प्रतिबन्ध लगाएका छौं ।’ उनले मेलालाइ विकृति र विसंगती मुक्त बनाउन आफुहरुले यस्तो निर्णय गरेको बताए । परम्परागत मेलामा मौलीक कलासंस्कृती, स्थानीय व्यापार, व्यवशायलाइ प्राथमिकता दिएर पर्यटकहरु भित्राउनुपर्नेमा केसीले जोड दिए । 

मेलामा बालक, महिलाहरु समेतले जुवा खेल्ने गरेको र यसले विकृती बढ्दै गएकोले प्रतिबन्ध लगाउनुपरेको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताए । ‘अव हाम्रो चाहना र उद्देश्य समृद्ध समाज बनाउनु हो,’ उनले भने– ‘कोहि कसैले जुवा संचालन गरेमा मेलामा जाँडरक्सी बेच्न र सेवन गरेर होहल्ला गरेमा हामी तुरुन्तै कारवाहि गर्छाै ।’ सल्यानका कतीपय मेलामा केहि व्यक्तिले जुवाको ठेक्का समेत लिनेगरेका थिए । 

प्रतिबन्धीत जुवाजन्य खेलहरुमा धेरै जनाले ठगिएको गुनासो पनि गर्दथे । मेलामा रमाइलो गर्ने नाममा जुवाजन्य खेल खेलाउने कार्य र खुल्ला मदीरा विक्रीले विकृती ल्याएको भन्दै यसलाई स्थानीय सरकारले रोक लगाएका छन् ।।

यस बिषयमा तपाइको प्रतिक्रिया...!