बैतडीमा चितुवा मार्न १७ जनाको प्रहरी टोली परिचालन किन गरियो ?

Posted on: 29 Aug, 2017


भदौ १३, बैतडी । बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी ज्यान लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको छ । 

नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको हो । शनिबार पाटन इलाका प्रहरी कार्यालयबाट गएको टोलीले आक्रमणकारी चितुवाको खोजी शुरु गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “चितुवाले मानवबस्तीमा पसेर मानिसमाथि नै आक्रमण गर्न थालेपछि हातहतियारसहित १७ जनाको प्रहरी टोली खटाइएको छ ।” 

प्रहरी सहायक निरीक्षक दशरथ भट्टराईको नेतृत्वमा प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । प्रहरीले स्थानीय तहसँग समन्वय गरेर नरभक्षी चितुवा मार्नका लागि प्रयास गरिरहेको छ । 

गतवर्ष भदौमा पनि चितुवाले लगातार तल्लो सोराडको उदयदेवमा दुई बालिकाको ज्यान लिए पछि हतियारसहितका १५ प्रहरी परिचालन गरिएपनि चितुवा मार्न सकेको थिएन । 

तल्लोस्वराडको साविकको कुलाउ, विशालपुर, आमचौरा, महाकाली, पञ्चेश्वर, शर्माली, उदयदेवलगायतका गाविसमा चितुवाको आक्रमणबाट अहिलेसम्म २२ जनाभन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । 

विसं २०६८ देखि चितुवाले तल्लोस्वराड क्षेत्रमा आक्रमण गरेपछि त्यसलाई मार्न २०६९ सालमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षक टोली खटिए पनि चितुवा फेला पार्न नसकेर टोली फर्किएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!