‘सुचना माग्दा विज्ञापन लैजा भन्छन सरकारी निकाय’

Posted on: 24 Jul, 2017

ताराबहादुर महत । श्रावण ९, दोलखा । दोलखाका धेरै जसो सरकारी निकायहरु सुचना मैत्री नभएको पत्रकारहरुले गुनासो गरेका छन ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाद्वारा आज चरिकोटमा आयोजित सुचनाको हक सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा सहभागि पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा सामु यस्तो गुनासो गरेका हुन । ‘कार्यालयमा सुचना माग्न जाँदा सुचना हैन बरु पाँच हजारको विज्ञापन लिएर जानुस भन्छन, सुचना दिँदैनन्’, दोलखाबाट प्रकाशित हुने एक अनलाईनका सम्पादकले भने । सरकारी निकायमा लिखित रुपमा सुचना माग्दा समेत सुचना नपाएको केहि पत्रकारहरुले गुनासो गरेका थिए ।

व्यक्तिगत सम्बन्ध राम्रो भएका र अग्रज पत्रकारलाई सार्वजनिक निकायबाट सुचना लिन सजिलो भएपनि नयाँ पुस्ताका र त्यसमाथि पनि महिला पत्रकारहरुलाई सुचना दिन आनाकानी गर्ने गरेको पाईएको छ । कार्यक्रममा सुचनाको हक र दोलखाको सन्दर्भ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष राजेन्द्र मानन्धरले दोलखाका सार्वजनिक निकायमा सुचनाको हक २०६४ मा व्यवस्था भएअनुसार सुचना कक्ष र वैकल्पिक सुचना अधिकारीको समेत व्यवस्था नहुँदा सुचना संकलनमा समस्या भएको बताउनुभयो ।

पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुँदै प्रमुख जिल्ला अधिकारी बोहोराले पत्रकारहरुले राम्रो कामको प्रचार र नराम्रो कामको उजागर गरिदिन आग्रह गर्नुभयो । एक अर्को प्रसङ्गमा उहाँले जिल्लाका कुनै पनि सार्वजनिक निकायले सुचना नदिएमा आफूले सहजीकरण गरिदिने र त्रैमासिक रुपमा जिल्ला प्रशासनका गतिविधि सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जीवी मास्केले पत्रकारहरु विचारका आधारमा विभाजित भएपनि पेशागत रुपमा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शरदचन्द्र सापकोटा, प्रेस सोसाईटी नेपालका केन्द्रिय सदस्य दिलबहादुर के.सी, नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणि अर्याल लगायत विभिन्न राष्ट्रिय तथा स्थानिय संचार माध्यममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!