जिप दुर्घटनामा दुईजनाको मृत्यु, दुई घाइते

Posted on: 15 Jun, 2017

असार १, बैतडी । जिप दुर्घटना हुँदा आज बैतडीमा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा बैतडी शिवनाथ–४ सोल्फोलाका ५८ वर्षीय लालसिंह महता र जिप चालक कैलाली अत्तरियाका शिव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । 

यस्तै घाइते हुनेहरुमा जिपका साहु कैलाली गोदावरी नगरपालिका–१ का हिक्मत बोहरा र बैतडी मेलौली नगरपालिका–९ विशालपुरका हरीदत्त भट्ट रहेका छन् । घाइतेको स्थानीय शर्माली स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

बैतडीको तल्लोस्वराडको सुल्लेखानबाट कुस्मतघाटतर्फ गइरहेको से१च ११५८ नंको जिप आज बिहान ११ बजे शिवनाथ–२ को बस्कोटी भन्ने ठाउँमा दुर्घटनामा परेको त्यहाँबाट स्थानीय वीरेन्द्र महताले जानकारी दिनुभयोे । 

जिपको अगाडिको बायाँसाइडको चक्का निस्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । जिप सडकबाट २० मिटर तल खोलामा खसेको बताइएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!