कपिलवस्तुको शिवराज नगरपालिका कछुवाको तालमा

Posted on: 19 Jan, 2017


माघ ६, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका बनेको पनि ३ वर्ष पुग्यो । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा भने २०७१ जेष्ठ ४ देखि आएको हो । 

शिवराजलाई नगरपालिका घोषणा गर्दा शिवपुर, विरपुर, विसुनपुर, चनई र जवाभारी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । जिल्लाको मुख्य व्यापारी नगरी चन्द्रौटा बजार पनि शिवराज नगरपालिका मै पर्दछ । शिवराज नगरपालिका व्यापार र जनसंख्याको दृष्टिले निकै अगाडि रहेको छ । वि.सं. २०६८ सालको जनगणना अनुसार  शिवराज नगरपालिकामा ४९ हजार ९ सय ८८ जनसंख्या रहेको तथ्याङक देखिन्छ ।

 अहिले राज्य पुनसंरचना आयोगको मापदण्ड अनुरुप तराई क्षेत्रमा नगरपालिका को हकमा ७० हजार  जनसंख्या हुनु पर्ने मापदण्ड लिएपछि, शिवराज नगरपालिकाले अन्य केहि गाविसलाई पनि नगरपालिकामा गाभ्ने भएको छ । ति गाविसमा जनसंख्या भन्दा विकास बढि गर्नु पर्ने देखिन्छ, अहिले सानो क्षेत्रफलको नगरपालिका लाई विकास गर्न नसकेको नगरपालिकाले ति गाविस गाभिएपछि कसरि विकास गर्ला ? यो नगरपालिकालाई चुनौति हुनेछ । 

त्यसको आधारमा यस क्षेत्रको विकास जति हुनुपर्ने थियो त्यति हुन सकेको छैन । यस शिवराज नगरपालिकाको वि.सं. २०७४/२०७५ को अनुमानित बजेट १६ करोड भन्दा बढि रहेको छ, यहाँ राजनिति दल र विभिन्न समाज सुधारमा लागेका संघ संस्थाको पनि कमि छैन । तर ति संस्था र राजनिति दल ले चुस्त दुस्त काम गर्न नसक्दा जिल्लाको शिवराज नगरपालिका  बिकासको हिसाबले निकै पछाडिनै देखिन्छ ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा पर्ने मुख्य व्यापारी नगरी चन्द्रौटा पुर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने हुँदा र यो क्षेत्रमा अत्यधिक जनसङख्या रहेको हुँदा यहाँ दैनिक हजारौँको संख्यामा बजार गर्न र यात्राको लागि मानिस आउने गर्दछन । 

भारत संगको खुल्ला नाका नजिकै रहेको हुँदा भारत जाने आउने मानिस को संख्यामा पनि कमि हुँदैन  । व्यापारीक दृष्टिले चन्द्रौटा धेरै अगाडि रहेको पाईन्छ । छिमेकि जिल्ला अर्घाखाँचि , प्यूठान, दाङ, रोल्पा लागायतका जिल्ला बाट यहाँ बजार गर्न आउने मान्छेको कमि हुँदैन ।  

कुन कुन कुरामा पछाडि छ त शिवराज नगरपालिका

सौचालय   

कपिलवस्तु जिल्लाका अन्य सबै गाविसहरु खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भईसक्दा सम्म पनि यस शिवराज नगरपालिका अहिले सम्म खुल्ला दिसा मुक्त क्षेत्र हुन सकेको छैन ।  

भित्रि गाउँको त कुरै नगरौँ जिल्लाको मुख्य बजारको रुपमा चिनिने चन्द्रौटा बजारमा पनि अहिले सम्म सार्वजनिक सौचालय नहुदा टाढा टाढा बाट आउने यात्रु , वजार गर्न आउनेहरु र स्थानियलाई समस्या परेको छ ।  राजनिति दलहरुले बजारमा जग्गा उपलव्ध गराइदिए नगरपालिकाले सौचालय निर्माण गर्ने नगरपालिकाका प्रमुख कृष्ण प्रसाद ढकाल ले बताउनुभएको छ । चन्द्रौटा वजार सहित विभिन्न तीन ठाउँमा सार्वजनिक सौचालय बनाउने भनिएता पनि जग्गा उपलव्ध नहुँदा बजेट फ्रिज भएको ढकाल ले बताउनु भयो । 

चन्द्रौटा बजार पुर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने बजार भएको हुँदा पनि यहाँ हजाराँैको संख्यामा यात्रुहरु आउने जाने गर्दछन  । पैसा तिरेर पनि सौचालय गर्न नपाईनु यहाँका राजनितिक दल लगायत प्रसासनको लाहप्रवाहि रहेको स्थानिय व्यापारी शिसिर  पोख्रेलको भनाई रहेको छ । 

खुल्ला दिशा मुक्त क्षेत्र भन्दै हिड्ने हरुले नै अहिले सम्म जिल्लाको मुख्य नगरि चन्द्रौटामा एउटा सार्वजनिक सौचालय बनाउन नसक्नु त्यति औचित्य देखिदैन । यहाँका राजनितिक दल, संघ संस्था लगायत प्रसासन मिलेर सार्वजनिक सौचालयमा लागि पर्नेहो भने चन्द्रौटाको सुन्दरता बढ्नुको साथै सर्वसाधारणलाई पनि समस्या नपर्ने स्थानियको गुनासो रहेको छ ।  शिवराज नगरपालिकाको भिक्टरीया, मजिगवा  लगाएतका दर्जनौँ गाउँहरुका मानिस सौचालय गर्न खुल्ला ठाउँमै जाने गरेको पाईन्छ । 

नगरपालिकाले दिने सेवा सुविधामा रोक्का लगाउने सुचना शिवराज नगरपालिकाले दिए पछि अहिले २/४ घरले सौचालय बनाउन थालेको मजिगवा गाउँका राम खेलावन यादवले बताए । नगरपालिका प्रमुख ढकालले पनि खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न पहल गरीरहेको बताउनु भयो, तर कहिले ? यसरी नगरपालिकाको सुस्त गति देख्दा स्थानियमा  चासो र शंका उब्जिएको छ । 

अस्पतालको अभाव

त्यस्तै शिवराज नगरपालिकामा अहिले सम्म एउटा व्यवस्थित अस्पताल हुन नसक्दा यहाँका सर्वसाधारण मर्कामा परेका छन् । करिब २० वटा गा.वि.स. लाइ केद्रित गरेको शिवराज नगरपालिकामा पर्ने चन्द्रौटा बजारमा व्यवस्थित अस्पताल अहिले स्थानिय सबैको मुख्य आवस्यक्ताको विषय बनेको छ ।  

स्थानिय क्लिनिकहरुले सामान्य विरामिको उपचार गर्दै आएता पनि अलि जटिल विरामिहरु भने बुटवल, भैरहवा लगायत अन्य ठाउँका अस्पतालमा रिर्फर हुनुपर्ने समस्या यहाँका स्थानियले खेप्नु परेको छ । “विभिन्न राजनिति दल, संघ सस्था र सम्वन्धित निकायले अस्पतालको विकासमा लागि परेको र चन्द्रौटाको मुहार बदल्न सर्वप्रथम अस्पताल निर्माणमा जोड दिनु पर्ने ”  समाजसेवि अर्जुन सापकोटाले बताउनु भयो ।  त्यस्तै स्थानिय देवि घिमिरे ले पनि आफुलाई सामान्य विरामि हुँदा पनि बुटवल नै धाउनु पर्ने गुनासो गर्नुभएको छ । यो एक २ जनाको गुनासो मात्र नभएर अधिकांस नगर वासिको आवश्यक्ता हो ।  

दुर्घटनाका लगायत अन्य जटिल विरामिहरुलाई चन्द्रौटामा उपचार हुन नसक्दा र अन्य ठाउँमा रिर्फर गर्दा उपचारमा ढिला भई कैयौको ज्यान समेत गएको छ । अन्य कुरामा विकसित र अत्यधिक जनचाप भएको यस शिवराज नगरपालिका क्षेत्रमा एउटा व्यवस्थित अस्पताल हुननसक्नु अचम्मको विषय बनेको छ । 

यस क्षेत्रमा सामुदायीक अस्पतालको रुपमा एउटा सञ्जिवनि सामुदायीक अस्पताल मात्र  रहेता पनि थोरै जटिल विरामिको लागि काम नलागेको देखिन्छ । “मानिसको आधारभुत आवस्यक्ता मध्ये स्वास्थ्य मुख्य रुपमा पर्ने हुँदा यहाँका सम्वन्धित निकायहरुलाई चन्द्रौटाको विकासमा र जनमानसको स्वास्थ्य लाई मध्यनजर गर्दै व्यवस्थित अस्पताल को विकास गर्न अनुरोध” गर्नुहुन्छ राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु साखाका सभापति  विष्णु प्रसाद खतिवडा ।  

यस नगरी चन्द्रौटामा एउटा व्यवस्थित अस्पतालको विकास गरिय यहाँका सर्वसाधारणले सास्ति खेपनु पर्ने थिएन । बोल्ने र सोच्ने धेरै हुन्छन तर गर्ने कम, यस नगरी चन्द्रौटामा एउटा व्यवस्थित अस्पताल को विकास गरिय यहाँका सर्वसाधारणले सास्ति खेप्नुपर्ने थिएन ।

पार्किङ अभाव

त्यस्तै बसपार्कको कुरा गर्दा जिल्लाकै अवस्था नाजुक रहेको छ । अन्य ठाउँमा बनेर पनि व्यवस्थित तवरले प्रयोग भएको छैन भने शिवराज नगरपालिका त्यस्मा पनि चन्द्रौटामा अहिले सम्म एउटा बसपार्क बन्न सकेको छैन । व्यवस्थित वस पार्क नहुँदा यात्रु र चालकलाई समेत समस्या पर्ने गरेको छ । 

गाडिहरु यत्रतत्र राखिदिदा वजार समेत अस्तव्यस्त देखिएको छ । व्यवस्थित वसपार्कको अभावले व्यपारी एवं पसलेहरुलाई समेत समस्या हुने गरेको छ । दैनिकजसो काम विशेषले आउने सेवाग्राहीको भिड हुने ठाउँमा सवारी सधान पार्किङ गर्ने स्थल नहुँदा जथाभावी पार्किङ गर्नाले बाटो अवरोध हुने गरेको छ । 

सर्वसाधारण तथा साना सवारी साधनलाई हिड्न समेत अप्ठ्यारो हुने गरेको स्थानीयवासी एवं समाजसेवी सुवास जयसवाल वताउनु हुन्छ  । बजार क्षेत्रमा पार्किङस्थल नभएका कारण अव्यवस्थित हुनुका साथै बजारमा समान किन्न आउनेले पसल अगाडी नै सवारी सधान पार्किङ गर्नाले सर्वसधारणलाई मर्का पर्ने गरेको छ । 

व्यवस्थित पाकिङस्थलको आभावमा जथाभावी सवारी साधन राख्नाले चन्द्रौटाको सौन्दर्य मासिदै गई कुरुप बन्दै गएको हुँदा व्यवस्थित पार्किङस्थल निर्माण गर्नुपर्ने चन्द्रँैटावासीको माग रहेको छ । 

व्यस्त चन्द्रौटामा सडकको छेउमै रोकिएका सयौको संख्याका गाडिले न त व्यापारिलाइ सन्तोष दिएको छ न त  सर्वसाधारण लाइ, हिड डुल गर्न समेत हम्य हम्य पर्ने चन्द्रौटामा साईकल देखि बस, ट्रक सम्म सडक कै छेउमा पार्किङ गरेको देखिन्छ ।  

शिवराज नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद ढकालले वस पार्क बनाउन जग्गा उपलब्ध नभएको जनाउनु भयो । चन्द्रौटा बजार लाई वास्तवमै सुन्दर, विकसित बजार बनाउने हो भने यहाँका स्थानिय संघ संस्था र राजनितिक दल नै सक्रिय हुनु पर्ने देखिन्छ । 

शुद्ध पिउने पानिको अभाव 

पानिको हिसावले कपिलवस्तुनै आर्सनिक, आइरन र ब्याक्टेरिया ले ग्रसित रहेको छ । शुद्ध पिउने पानिको अभाव हुँदा शिवराज नगरपालिकाका अधिकांस मानिस मर्कामा परेका छन । नगरपालिका भित्र २ वटा पानि सुद्धिकरण गर्ने कम्पनि छन । 

ग्यालेक्सि शुद्ध पिउने पानि र सेरेमोनि शुद्ध पिउने पानि तर ति निजि कम्पनि भएको हुँदा धनि मानि लाई मात्र काम लागेको छ । सर्वसाधारण सधै मारमा नै छन । खाने पानि डिभिजन चन्द्रौटाले पनि शुद्ध पिउने पानि वितरण गर्ने भनेर चन्द्रौटामा काम गर्न लागेको बर्षौ भयो तर काम कछुवाकै तालमा ।  

चन्द्रौटा चोकमा अहिले सम्म पिउने पानिको सार्वजनिक धारा हुन नसक्दा सर्वसाधारण लगायत यात्रुहरु मर्कामा परेका छन । बजार क्षेत्रमै यस्तो समस्या रहेको छ भने अन्य गाउँमा के होला ? यो निकायले सोच्नु पर्ने विषय हो । 

यस शिवराज नगरपालिका भित्रका भित्रि गाउँहरुमा शुद्ध पिउने पानिको व्यवस्था त कुरै छाडौ शुद्ध पिउने पानि सम्वन्धि जनचेतना सम्म नफैलाउँदा असुद्ध नल्काकै पानि पिउन बाध्य छन ।   विभिन्न खानेपानि का संघ संस्थाले यस क्षेत्रमा बर्षौ देखि शुद्ध पिउने पानि सम्वन्धि काम गरे पनि चन्द्रौटा चोकमा यात्रुहरु र सर्वसाधारण लाई लक्षित गरेर एउटा पिउने पानिको धारा बनाएका छैनन् । बजार गर्न आउदा वा यात्रुहरु आउदा पानि किनेर खानु परेको स्थानियको गुनासो रहेको छ । 

चेलिबेटि बेचविखन ग्रस्त

नेपालमा चेलिबेटि बेचविखन प्रक्रिया बढ्दो छ । गरिबी, शिक्षाको  अभाव लगायतका कारणले चेलिबेटि बेचविखन नरोकिएको पाईन्छ ।  २०७२ सालको भुकम्प पछि गरिबी हट्ने र राम्रो जागिर पाउने आसामा धेरै नेपालि चेलि बाध्यात्मक कार्यको लागि बिदेशीनु परेको छ । 

त्यस्तै कपिलवस्तु जिल्लामा पनि चेलिबेटि बेचविखनका घटना धेरै सुन्न पाईन्छ । भारत संगको खुल्ला सिमानाको कारण अन्य देशमा भन्दा भारतका विभिन्न सहरमा चेलिबेटि बढि बेचिएका छन् ।  कपिलवस्तुमा पनि विषेश गरी कृष्णनगर नाका बाट धेरै चेलि बेचिएको र बेच्ने प्रयास भएको चेलिबेटि बेचविखन रोकथाम मा खटिएका विभिन्न संघ संस्थाले बताएका छन् । 

छिमेकि जिल्ला प्युठान, दाङ, अर्घाखाँचि लगायतका जिल्ला बाट पनि शिवराज नगरपालिका  हुदै चेलि लाई भारत पुराएको देखिन्छ । पैसा कमाउने माध्यम धेरै छन् । कोहि व्यापार गरेर पैसा कमाउछन त कोहि जागिर गरेर, तर हाम्रो नेपाली समाजमा पैसा कमाउन र आफनो स्वार्थ पुरा गर्न नेपाली चेलि लाई नै बेच विखन गरेको पाईन्छ । सोझा साझा नेपाली चेलीलाई विदेशका विभिन्न ठाउँमा लगेर वेश्या वित्र्ति लगायतका बाध्यात्मक काम मा प्रयोग गरीएको पाईन्छ ।

कपिलवस्तुमा पनि यो कुरा नौलो छैन, जव सम्म आफुनै सचेत भैदैन तव सम्म चेलिवेटि ओसार पसार रोक थाम हुन नसक्ने शान्ति पुर्नस्थापना गृह  कपिलवस्तुका संयोजक भुमिराज भट्टराई ले बताउनु भएको छ । 

राम्रो जागिर दिने भन्दै प्रलोभनमा देखाएर दलाल ले चेलिहरु विदेश पलायन गरेको पाईन्छ । सरकारले रोजगारीको अवस्था शिर्जना गर्न सक्यो भने धेरै हद सम्म यसको न्युनिकरण हुने पनि  भट्टराई ले बताउनु भयो । त्यस्तै चोरी नाका प्रयोग गरेर चेली लाई भारत प्रवेश गराउने प्रवित्ति ले रोक थाम मा कठिन परेको  के.आई. नेपाल कपिलवस्तुका संयोजक केशर विश्वकर्मा ले बताउनु भयो । 

जिल्लामा धेरै संस्थाहरु र सुरक्षा निकायहरु बाट चेलिबेटि बेचविखन  रोक थाम कार्य भईरहेको छ  तर चेलिबेटिका उक्त घटना नरोकिएको पाईन्छ । चेलिबेटि बेचविखन रोकथाम मा टेवा पु¥याउने नै हो भने यस्ता संघ संस्थाले शिवराज नगरपालिका लाई नै मुख्य केन्द्र बनाएर सत्रकता अपनाउनु पर्ने देखिन्छ । 

दमकलको अभाव

कपिलवस्तुमा  दमकल नहुँदा जिल्लाका विभिन्न ठाउँमा बारमबार आगलागिका घटना ले  धेरै क्षति पु¥याएको छ । दमकलले निभाउन सम्भव आगो लाग्दा पनि दमकल नहुँदा  सर्वसाधारणले क्षति खेपनु परेको हो । गर्मि समयमा जिल्लामा गाउँनै खरानि बन्ने गरेको पाइन्छ ।   

दमकल नहुँदा बारमबार सर्वसाधारण आगलागिबाट  पिडित हुनु परेको छ । जिल्लाको कृष्णनगर, तौतिहवामा केहि दमकल रहेता पनि शिवराज २० वटा गाविसको छिमेकि यस शिवराज नगरपालिकामा एउटा दमकल नहुँदा यहाँका जनता बारम्वार खरानि बन्नु परेको छ । 

यस क्षेत्रमा जाडो याममा पनि आगोलागेको घटना देखिन्छ भने गर्मि समयमा आगलागि बाट कति क्षति हुन्छ होला ,यो सोच्नुपर्ने विषय हो । जिल्लामा एक, दुइ वटा दमकल भएता पनि आगो लागेर गाउँनै सखाप पार्दा सम्म आगलागि स्थलमा पुग्दैन ।  

“प्रदेशको राजधानि बनाउन पहल गरेका यहाँका राजनितिक दल स्थानिय निकाय नगरपालिका प्रसासनले किन गर्दैनन दमकलको लागि पहल ?  के गरेर बसेका छन निकाय ? वास्तवमा यो क्षेत्रको लागि दमकलको विषयमा सोच्नु पर्ने देखिन्छ ।” स्थानियले गुनासो समेत गरेका छन ।   विभिन्न निकायले दमकलको समस्या समाधान गरे  यहाँका सर्वसाधारण बेला बेला जल्नु पर्ने थिएन ।

शिक्षा

यस नगरपालिकामा सामान्य शिक्षा केहि हद सम्म भएता पनि प्रविधिक शिक्षा भने कम नै रहेको छ । नेपाल आदर्श उ.मा.वि.मा भेटनेरि शिक्षा र राष्ट्रिय उ.मा.वि.मा कम्प्युटर शिक्षा भएता पनि अन्य स्कुलमा भने उशि परम्परागत शिक्षा नै दिएको पाईन्छ ।  

यहाँ राम्रो प्राविधिक पढाई नहुँदा कैयौँ विद्यार्थि एस.एल.सि. सक्काएपछि बुटवल काठमाडौं जाने गरेको पाईन्छ । तर कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा मधेशि समुदाय अन्य समुदायको तुलनामा शिक्षाको दृष्टिले पछाडि परेको देखिन्छ । 

त्यसमा पनि मधेशि समुदायको किसोरीहरुको अवस्था शिक्षामा स्वतः पछाडिनै छ । गाउँमै मा.वि. तह सम्मको स्कुल नहुदा र अभिभावकहरुले गाउँदेखि टाढा छोरीहरुलार्ई पढन नपठाउने हुँदा र मा.वि. तहको स्कुल पढ्न २ घण्टाको बाटो हिड्नुपर्ने समस्याले आधारभूत शिक्षामा नै किसोरी सिमित रहेको संघिय समाजवादि फोरम नेपाल कपिलवस्तु क्षेत्र नं. ५ का सांसद अभिशेक प्रताव साहले बताउनुभएको छ ।  

छोरीलाई पढ्नको लागि बाहिर पठाउनु हुदैन भन्ने मान्यताले अझै मधेशी समाजलाई गाजेको छ । छोरीको जात अर्कोको घरमा जाने जात पढेर के नै पो हुन्छ भन्ने सोचाइले पनि यस समुदायका छोरीहरु शिक्षाको पहुँचबाट टाढा भएका छन ।  

मधेशी समुदायमा  छोरा लाइ मजदुरी गरेर बोर्डिङ स्कुल बढाउने तर छोरीलाई केहि टाढाको सरकारी स्कुलमा पनि नपठाउने प्रवित्तिले मधेशी किसोरी शिक्षामा पछाडि परेको अधिकार कर्मि सुनिता बेल्वासेले बताउनुभएको छ । त्यस्तै ४/५ कक्षा पढेर नै स्कुल छोड्न वाध्य भएको किसोरीले गुनासो गरेका छन् ।

रोजगार

रोजगारको हिसावले पनि यहाँका मानिस पछाडिनै छन । यहाँ सडक देहि ठुला ठुला कार्यलय सम्म छन । यहाँका जनताले राजधानि र ठुला ठुला सहरको तुलनामा रोजगारको माग गरेका छैनन् ।  

यस नगरपालिका सुहाउदो रोजगारको व्यवस्था पनि हुनु पर्ने देखिन्छ । रोजगार कै शिल्सिलामा घर घरमा कवाडि खोज्दै जानेले भन्दा कवाडि ठेक्का लिने वालाले बढि मुनाफा लिने हुदा खास कवाडि खरिदर मर्कामा पर्ने गर्दछन् । 

दिर्गकालिन रुपमा बातावरण फोहर गराउने मुख्य नसड्ने  बस्तु  कवाडि व्यवसाईले खरिद गरी बातावरण सफाइमा ठुलो भुमिका खेल्दछ  उता नगरपालिकाले गाउँ बजार सफा गराउनभन्दै धेरै पैसा खर्च गर्दछ तर ति व्यवसायीको समस्या के छ र सहजताको लागि के गर्न सकिन्छ भनेर कहिलै सोच्न भ्याएको छैन । 

घाम पानि न भनि हाम्रो घर घरमा चिच्याउदै  काम नलाग्ने देखि लिएर बातावरण प्रदुषण गराउने सम्मका फालिएका कवाडि बस्तुहरु लाई पैसा तिरेर  खरिदगर्ने व्यक्तिलाई हाम्रो समाजमा कामको दृष्टि ले तल्लो नजरले हेरिन्छ । कवाडि पेसा वाला  बस्तु खोजन आउदा कवाडि आयो भनेर चिनिन्छ तर त्यहि कवाडिले काम नलाग्ने बस्तु जम्मा गरी पुन प्रसोधन पस्चात प्रयोग गर्न पाउँदा नयाँ बस्तुको रुपमा लिईन्छ । कवाडि व्यवसायीले पैसा तिरेर बटुल्ने बस्तु नसड्ने हुँदा वास्तवमै उक्त बस्तुले वातावरण प्रदुषण गराउँदछ । 

कपिलवस्तुको चन्द्रौटामा पनि यो व्यवसाय गर्ने थुप्रै देखिन्छन् ।  कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सडकमा रोजगार गर्नेहरुको सख्या दिन प्रतिदिन वढ्दै गएको छ । न्युन स्तर भएकाहरुले यो पेसा गर्ने गरेको पाइएको छ । महेन्द्र राजमार्गको किनारमा एक मेसिन सगै उनिहरु देखिन्छन । 

देख्दा शरिरका कपडाहरु कालो धुलो मैलो देखिन्छ । समाजले सवारि साधनमा ग्रिसिङ गर्ने व्याक्तिलाई तल्लो नजरले हेर्ने गरेको पनि पाइन्छ । उनिहरु भने सडकमा गुडिरहेका सवारि साधनहरु कति वेला आएर रोक्छन भन्ने आशामा छन ।  सवारि साधनमा ग्रिसिङ गर्दै गर्दा चोटपटक लाग्ने डर भएको पनि उनिहरु वताउछन । आफु गरिवि भएकै कारण यो सडकमा काम गर्नुपरेको उनिहरुको धारण रहेको छ । 

धार्मिक तथा प्रयटकिय स्थल ओझेलमा 

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका २ भितरियाको बीच जंगलमा अवस्थित सोनवागढ, शिवराज नगरपालिका ६ चन्द्रौटामा रहेको मर्णेश्वरी मन्दिर, चन्द्रौटा दुर्गा मन्दिर, उमरि गुफा, खरेन्द्रपुर स्वर्गद्धारी आश्रम लगाएतका धार्मिक स्थल सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ ।  

संरक्षणका लागि सम्बन्धित निकायले चासो नदेखाउँदा मन्दिरमा रहेका पुरातात्विक बस्तुहरु चोरी हुने गरेका छन् । ऐतिहासिक र धार्मिक धरोहरका रुपमा रहेको सोनवागढ मन्दिरको महत्व बढ्दै गएपनि संरक्षण नहँुदा मन्दिरको अस्तित्व समेत संकटमा पर्दै गएको स्थानियले बताएका छन् । 

संरक्षणका लागि सम्बन्धित निकायले चासो नदेखाउँदा मन्दिरमा रहेका पुरातात्विक बस्तुहरु चोरी हुने गरेका छन् । यसरी मन्दिरमा रहेका महत्वपूर्ण बस्तुहरु चोरी हुँदै जानु र नदी कटानको चपेटामा पर्दै जानुले मन्दिरको अस्तित्व धरापमा पर्ने खतरा बढेको स्थानीयको भनाई छ । 

जिल्लाको शिवराज नगरपालिका १ उमरि डाडाँमा अवस्थित उमरि गुफा जुन शिव गुफाको नामले पनि चिनिन्छ । मन्दिरको तल शिवलिंग रहेको सपना देखे पछि  राता रात बाबाले जमिन मुनि झन्डै ५ मिटर को गुफा निर्माण गरेका हुन ।  

धार्मिक एवं पर्यटकीय सम्भावना बोकेका यी सोनवागढ माई, कर्णेश्वरी, दुर्गा मन्दिर, उमरी गुफा लगायतको  उचित प्रचारप्रसार र संरक्षणका लागि छिट्टै सरोकारवालाहरुको ध्यान जानु आवश्यक देखिन्छ ।

सरसफाई

हाम्रो वातावरणमा भएका सम्पुर्ण तत्वहरूको प्राकृतिक गुणमा भएको ह्रास लाइनै प्रदुषण मानिन्छ । 

वातावरणीय प्रदुषण भन्नाले वातावरणका भौतिक, रासायनिक तथा जैविक वस्तुहरूका अनावश्यक परिवर्तनलाई बुझिन्छ । वातावरणीय प्रदुषण वर्तमान विश्वको एक प्रमुख समस्या बनिरहेको छ । प्राचिन विश्वमा वातावरण मात्रै प्राकृतिक परिवर्तनहरूका कारण परिवर्तित हुन्थ्यो, र वातावरणमा हुने प्रदुषण पनि प्राकृतिक प्रदुषण हुने गर्दथ्यो ।  

तर आज पृथ्वीमा भइरहेको जनसंख्या बृद्धि प्रदुषणको मुख्य कारक बनिरहेको छ । जनसंख्याको बढ्दो चापसँगसँगै प्रदुषणका समस्याहरू पनि बढ्दा देखिन्छन ।

शिराज नगरपालिका क्षेत्रमा पनि पछिल्लो समय जनसंख्या संगै वातारण प्रदुषण बढदो रहेको छ । जिल्लाका करिव सबै गा.वि.स. खुल्ला दिशा मुक्त क्षेत्र घोषणा हुनै लाग्दा सम्म पनि यस नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र हुन सकेको छैन ।

चर्पिको विषय मात्र नभइ अन्य क्षेत्र र नगर भित्रका सुकुम्बासि क्षेत्रमा पनि वातावरण वा समाज त्यति स्वच्छ देखिदैन । शिवराज नगर क्षेत्र भित्र सरसफाई गर्नु आवश्यक देखिन्छ । नगर सफा  गरी वातावरण स्वच्छतामा टेवा पुर्याउन नगरपालिका नै  अघि बढनु पर्ने स्थानियको भनाई रहेको छ ।  

नगर क्षेत्र स्वच्छ राख्न नगरपालिकाले चन्द्रौटा बजार मात्र नभइ पुरै नगरपालिका लाई नै ध्यानमा राख्नुपर्ने स्थानिय सुनिता पाण्डेले बताउनु भयो । त्यस्तै व्यापारीले आफनो पसल बाट निस्केको फोहर व्यवस्थित तवरले राख्नुपर्ने , नगरपालिकाले जनचेतना अभियान चलाउनुपर्ने स्थानिय सावित्रि चन्द ले बताउनु भयो । 

उता नगरपालिका प्रमुख कृष्ण प्रसाद ढकालले नगरपालिका का प्रत्येक वडामा गई वडा भेला गरी चर्पि बनाउ अभियान सञ्चालन गर्ने र सुकुम्बासि बस्तिमा पनि जनचेतनामुलक कार्यक्रम गर्ने योजना रहेको बताउनु भएको छ  । नगरपालिकाले चन्द्रौटा बजार सफाइमा लगानि गरे पनि अन्य क्षेत्रमा भने त्यति चासो नदेखाएको पाईन्छ ।

कृषि

कपिलवस्तु जिल्लाको केहि ठाउँमा सिचाइको सुविधा भए पनि पश्चिमि शिवराज नगरपालिका चन्द्रौटा  क्षेत्र मा वास्तवमै राम्रो सिचाइको व्यवस्था नहुँदा किसान मर्कामा परेका छन् । 

कपिलवस्तु  जिल्लाको पुर्वि क्षेत्रमा खेति राम्रो भएता पनि पश्चिमि क्षेत्रमा सुख्खा जमिनको कारण खेति सोचे अनुसार नहुने जिल्ला कृषि विकास कार्यलयका प्रमुख राकेश ओझा ले बताउनु भएको छ । 

त्यस्तै सिचाइको जिम्मा सिचाइ कार्यलयको हुने हुँदा पनि कृषि विकास कार्यलयले विभिन्न संघ संस्थाको सहयोगमा  पम्पसेट, मोटर हरु वितरण गर्ने गरेको ओझा ले बताउनु भएको छ । यहाँको जमिन सुक्का भएको हुँदा र सिचाई सुविधा नहुँदा व्यवसायीक खेति गर्न बाट यहाँका किसान बञ्चित रहेका छन । 

जिल्लाको समग्र सिचाइको विकासमा सम्वन्धित निकाएले ध्यान पुर्याए  बेमौसमि खेति र कृर्षक ले पनि राहत पाउने थिए । 

अन्य

यस शिवराज नगरपालिकामा रहेको वडा प्रहरि कार्यलय चन्द्रौटामा राम्रो गाडि नहुँदा यस क्षेत्रको शान्ति सुरक्षा चुस्त दुस्त हुन नसकेको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले बताउनु भएको छ । 

अपराध नियन्त्रण र अपराध अनुसन्धानमा नागरिक समाजको भुमिका विषयमा जिल्ला प्रहरि कार्यलय कपिलवस्तुले वडा प्रहरी कार्यलय चन्द्रौटामा यहि पौष २१ गते आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनितिक दल, समाजसेवि, बुद्धिजिवी, उद्योगी व्यापारी, संघसंस्था प्रतिनिधि लगाएतले बारमबार वडा प्रहरी कार्यलय चन्द्रौटा लाई नयाँ गाडि चाहियो, गाडि पुरानो हुँदा सान्ति सुरक्षा चुस्त दुस्त हुन सकेन भन्दा पनि कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले केहि प्रतिक्रिया दिएनन् । 

बषौ पुरानो गाडि, त्यहि पनि बेला बेला खराब हुँदा वडा प्रहरी कार्यलय चन्द्रौटा लाई जनताको सुरक्षा गर्न निकै गाह्रो भएको छ । प्रहरि प्रमुख जस्तो विशिष्ट व्यक्तिले नै प्रत्यक्ष  जनताको गुनासो नसुने पछि अरुको अवस्था के होला, यो सोच्नु पर्ने विषय रहेको छ ।

विभिन्न समुदाय,जात जाति, भाष धर्मका मानिस मिलेर बगैचा जस्तो भएर बसेको यस शिवराज नगरपालिकामा अस्त व्यस्त राजनितिले पनि यहाँको विकास अगाडि बढ्न सकेको छैन । यहाँका राजनितिक दलका प्रतिनिधिले पनि सोच्नु पर्ने देखिन्छ, ताकि आफनो राजनितिको कारण सर्वसाधारणले दुख हैन सुख सुविधा पाओस ।

यस नगरपालिका भित्र रहेका विभिन्न नम्बरी बाटाहरु धुलाम्य र हिलाम्य शिवाय अरु अवस्था देख्नै पाईदैन । भित्रि गाउँहरुको त कुरा छोडौँ चन्द्रौटा बजारमा नै पुर्व पश्चिम महेन्द्र राजमार्ग बाहेक कालो बाटो देख्नु छैन । 

चन्द्रौटा बजारमै धेरै दशक पहिले देखि लाग्दै आएको बुधबारे साप्ताहिक बजारको हालत पनि तौलिहवा, गोरुसिङगे, इमिलिया लगाएतका हाट बजारको तुलनामा निकै नाजुक रहेको छ । 

वास्तवमा यस शिवराज नगरपालिकाको विकास नभएको हैन, तर कछुवाको तालमा । यस नगरपालिकाको तिब्र विकासको लागि यहाँका राजनिति दल, स्थानिय निकाय, संघ संस्थाहरु र स्वयम जनता सक्रिय हुनुपर्ने देखिन्छ । अशोक पोख्रेलको सहयोगमा 

 




यस बिषयमा तपाइको प्रतिक्रिया...!