कपिलवस्तु भन्सारमा गोली चल्यो, दुई सशस्त्र प्रहरी घाइते

Posted on: 29 Dec, 2016

पुस १४, कृष्णनगर । कपिलवस्तुस्थित नेपाल भारत सीमा भन्सार कृष्णनगरमा गोली चलेको छ ।

अज्ञात समूहले चलाएको गोली लागि दुई जना सशस्त्र प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । गोली लागेर हबल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएका छन् । पुनको कुममा र श्रेष्ठको हातको औंलामा गोली लागेको सशस्त्र प्रहरी भन्सार गुल्म कपिलवस्तुका कार्यालय प्रमुख तारिखचन्द्र चौधरीले बताए । 

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र दुबै घाइते खतरामुक्त रहेको प्रहरीले जनाएको छ । दिउँसो करिब दुई बजेतिर भारत तर्फबाट गोली चलेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । तस्करहरुको समूहले गोली चलाएको अनुमान प्रहरीले गरेको छ । गोली चलाउनेहरुको खोजी भइरहेको र यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!