पसलै पिच्छे म्याद नाघेका उपभोग्य वस्तु

Posted on: 01 Dec, 2016

नरी बडु, मंसिर १६ बैतडी  ।
जिल्लाको खोड्पे र पाटनमा जिल्ला प्रशासन कार्यालयले गरेको बजार अनुगमनका क्रममा  ५६ हजार बराबरको उपभोग्य बस्तु म्याद नाघेको भेटिएको छ ।

एक महिना अघिपनि यो बजार अनुगमन भएको थियो । महिनै पिच्छे एउटा बजारमा अनुगनमन गर्दापनि म्याद नाघेका बस्तुको बिक्रि घट्न सकेको छैन । दशरथचन्द राजमार्गको पहिलो तथा मुख्य बैतडीको खोड्पे बजारका पसलै पिच्छे म्याद सकिएर अखाद्य भईसकेका उपभोग्य बस्तु पाईएका छन् ।

बजार अनुगमन समितिले गरेको निरिक्षणका क्रममा बैतडीका अन्य बजारको अवस्थापनि उस्तै छ । अनुगमन गरिएका अधिकांश क्षेत्रमा म्याद सकिएका बस्तु भेटिदै आएका छन् । खोड्पे बजारका किराना, तरकारी, होटल, औषधी पसल गरी ६१ वटाको अनुगमन गरेको थियो भने पाटन बजारमा पनि ३१ पसलको अनुगमन गरेको थियो ।

सबैजसोमा केही न केही बस्तु म्याद नाघेको पाईएको हो । पिठो, चिउरा, बिष्कुट, चाउचाउ, तेल, मसला लगायत श्रृगारका सामग्री म्याद सकिएको बर्षौसम्मपनि बिक्रि हुदै आएको पाईएको छ । म्याद सकिनै लागेका बेला तराईका गोदामबाट पहाडी जिल्लामा अधिकांश सामान आउने गरेको पाईएको छ । उत्पादन मिति र उपभोग्य अवधि मेटिएका, म्याद सकिनै लागेका र उत्पादकको पहिचान नखोलेका बस्तु समेत पाईएको अनुगमन टोलीले जनाएको छ ।

मसला, तेल, बिस्कुट, चिउरा लगायतका खाद्य बस्तुको म्याद महिनादिन बढी नहुने गरेको स्थानीय ब्यापारी बताउछन् । थोक बिक्रेताले जर्बजस्ती बेचेर जाने गरेको उनीहरु बताउछन् । केही बस्तुमा छुट गरेर आफुहरुलाई बेच्ने भएकाले नाफाको लोभमा म्याद सकिनै लागेका बस्तु किन्ने गरेको खोड्पेका एक ब्यापारीले बताए । सुर्ती, गुटखा, मदिरा लगायतका बस्तु भने उत्पादन भएको महिना दिनमै पसलमा पुगेको पाईएको छ ।

पछिल्लो समय थोक बिक्रेताहरु पसलमै आएर सामान पुर्याउन थालेपछि यस्तो प्रबृति बढेको छ । थोकमा बिक्रि गर्न ल्याउनेबाट नै उपभोग्य सामग्रीको उत्पादन मितिमा फरक देखिने गरेको हो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!