रुकुममा मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

Posted on: 20 Nov, 2016

मङ्सिर ५, रुकुम । काँक्रीबाट रुकुमकोटतर्फ आउँदै गरेको मिनीट्रक रुकुमकोट– ९ को रातापहर नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

बिहान ५ बजे बा १ ख ९६९१ नं को मिनीट्रक दुर्घटना हुँदा मारोवाङ– ३ की अन्दाजी १६ वर्षीया सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर विकको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर छ । 

घाइतेको स्वास्थ्यचौकी रुकुमकोटमा उपचार भइरहेको स्थानीयवासी मदन शाहले जानकारी दिनुभयो । गाडी सडकबाट एक हजार मि तल रुकुमगाड खोलामा पुगेको थियो । घटना बिहानैको भएकाले जानकारी नहुँदा अबेरसम्म घाइतेको उद्धार हुन नसकेको स्थानीयवासीले बताएका छन् । 

घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रुकुमकोटका प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । गाडी दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!