सर ! एउटा किड्नीलाई कति पर्छ ?

Posted on: 17 Nov, 2016

सास । मंसिर २, बर्दिया । 

‘मानिसको कुनै पनि अङ्ग किनबेच र ओसारपसार गर्नु गैर कानुनी हो । यदि कहि कतै कसैले यस्तो काम गरेमा यो अवैध मानिन्छ । त्यसैले मानिसको कुनै पनि अङ्गको कारोबार गरेमा कडा भन्दा कडा कानुनी सजाँयको व्यवस्था छ । तर, घरपरिवारको कोही सदस्यलाई किड्नीको आवश्यकता पर्दा परिवारकै सदस्यले भने एउटा किड्नी दिन सक्छन् । यस्तो अवस्थामा चिकित्सकको परामर्श लिनु पर्दछ ।’

अाफ्नो जिज्ञासा राख्दै कक्षा ९ की छात्रा .....

यसरी बालबालिकाहरुलाई कानुनी सचेतना कक्षा लिँदै हुनुहुन्थ्यो बर्दियाका वरिष्ठ अधिवक्ता नरेन्द्र शर्मा कोईराला र कमल प्रसाद पाण्डे । अधिवक्ताद्वयले जिल्ला सदरमुकाम गुलरिया स्थित श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कानुनी सचेतना कक्षा लिने क्रममा उपरोक्त कुरा बताउनुभएको हो । विद्यार्थी जीवनदेखि नै कानुनमा भएका महत्वपूर्ण कुराहरुको जानकारी भएमा भोलिको समाज समुन्नत र सुसंस्कृत बन्ने अपेक्षाका साथ सामाजिक कानुनी सहायता केन्द्रको आयोजनामा यो कानुनी सचेतना कक्षा सञ्चालन गरिएको अार्थिक प्रशासन शाखाका केदार पौडेलले जानकारी दिनुभयो । 

कानुनी सचेतना कक्षामा सहजीकरण गर्नुहुँदै अधिवक्ता नरेन्द्र शर्मा कोइराला .....

जिल्ला कानुनी सहायता समितिले निःशुल्क रुपमा कानुनी सहायता र परामर्श दिँदै आएको छ । यसै क्रममा विभिन्न समुदायमा कानुनी सचेतना, सडक नाटक, कानुनी परामर्श तथा सहजीकरण गर्ने क्रममा केन्द्रले आज यो कार्यक्रमको आयोजना गरेको पौडेलले साझा सबाललाई बताउनुभयो । 


आज लिइएको कक्षामा विद्यार्थीहरुलाई बाल बिवाह, बाल अधिकार, मानव अधिकार लगायतका विषयहरुमा सचेतीकरण गरिएको अधिवक्ता कमल पाण्डेले बताउनुभयो । यस प्रकारका कार्यक्रमहरुले कम्तीमा पनि आजका बालबालिकाहरुलाई कानुनी रुपमा सचेत बनाउन सकिने र उनीहरुका माध्यमबाट समाजमा सकारात्मक सोचको विकास हुन सक्ने अधिवक्ता नेरन्द्र शर्मा कोइरालाले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!