भारतीय नोट बन्द हुदा नेपाली बिरामी समस्यामा

Posted on: 11 Nov, 2016

नरी बडु, कात्र्तिक २६ बैतडी ।
भारत सरकारले आफ्नो देशमा चलनचल्तीमा रहेका पाँच सय र एक हजारका नोट बन्द गरेपछि नेपाली बिरामी समस्यामा परेका छन् ।

भारतका अस्पतालहरुले कात्र्तिक २३ गतेबाट उक्त नोटहरु लिन नमानेपछि बैतडी, दार्चुला, बझाङ लगायत जिल्लाका भारतमा उपचार गर्न गएका बिरामीहरु समस्यामा परेका छन् ।

भारतीय मुद्रा नचलेपछि उपचारको लागि भारतको पिथौरागढ, लुवाघाट, हल्द्वानी लगायतका ठाँउमा गएका नेपाली विरामीहरुको बिचल्ली भएको भारतको पिथौरागढमा रहेको एक निजि अस्पताल (डक्टर रेणु जग्दीश) का डक्टर तारा जोशिले बताए ।

“अहिले उक्त अस्पतालबाट मात्रै गम्भीर रारिरीक समस्या भएका र अपरेशन गर्नुपर्ने दैनिक दुई देखि तीन जनासम्म विरामी नोट नचल्दा उपचार पाउनबाट बन्चीत भएका छन” उनले भने ।

थोरै खर्चमा उपचार गर्नुपर्ने र जटिल अपरेशन गर्नुपर्ने केहि बिरामीहरुको आफुहरुले उदारोमा पनि उपचार गराईरहेको उहाँको भनाई छ । “भाईको हड्डीको अपरेसन गर्नुपर्ने भएकाले सयखडा तीन प्रतिशतका दरले भारु नोट साटेर पिथौरागढ लगे तर त्यहाँ उक्त नोट अस्पतालले लिन नमानेपछि समस्या भएको छ” बैतडीको कोटीलाका धनबहादुर बोहराले भने ।

बिरामीको समस्यालाई हेरी यो समयमा आफुहरुले नेपाली नोट चलाएपनि नेपालका बिरामीहरुलाई जानकारी नहुदा अघिनै कमिशन तिरेर भारु नोट ल्याउने गरेको भारतको एक निजि अस्पतालका डक्टर जग्दीश गडकोटीले बताए ।

कमिसन दिएर भारु नोट लगि उपचार गराउन भारत गएका नेपलीहरु समस्यामा परेकाले नेपाल सरकारले कुनै कुटनितिक पहल चालि समस्या समाधान गर्नुपर्ने बैतडीको माहाकाली शर्माली गाविस (हाल भारतको पिथौरागढमा छोरीको हड्डी अपरेसन गरीरहेका) विरसिह साउदको भनाई छ ।

क्याप्सन : भारतको पिथौरागढमा रहेको बैतडी, दार्चुला, बझाङ, लगायत सुदूरपश्चिमका नेपालीहरुले उपचार गराउन जाने भारतको एक निजि अस्पताल
तस्बिर : नरी बडु (पिथौरागढ)

यस बिषयमा तपाइको प्रतिक्रिया...!