पर्सामा एसईईमा ९४ प्रतिशत भन्दा बढी विद्यार्थी अनुत्तीर्ण

Posted on: 28 Jun, 2024

असार १४,  वीरगन्ज | पर्सा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ९४ प्रतिशत भन्दा बढी विद्यार्थी अनुत्तीर्ण (नन् ग्रेडिङ) भएका छन्। 

शिक्षा विकास तथा समन्वय इकाई पर्साले दिएको जानकारी अनुसार एसईइमा पर्साबाट ९४.०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन्। गत चैत १५ देखि चैत १६ गतेसम्म सञ्चालित एसईई पर्साबाट कूल ९ हजार ३३८ जना विद्यार्थी सहभागी भएकोमा ती मध्ये ५.९ प्रतिशत मात्र अर्थात् ५५२ जना विद्यार्थी उत्तीर्ण भएका छन्। ८ हजार ८८७ जना विद्यार्थी भने अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख मोती प्रसाद भट्टराईले जानकारी दिए। 

उनका अनुसार एसईईमा पर्साबाट ३.६ देखि ४ भन्दा कम जीपीए ल्याउने ८० जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने २०६ जना र २.४ देखि २.८ जीपीए ल्याउने १८१ जना मात्र रहेका छन्।

बाँकी ८ हजार ८८७ जना नन्ग्रेडमा परेको उनले बताए। पर्सा जिल्लामा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य रहेको जानकारी पनि  उनले दिए।  भट्टराईले भने, ‘पर्सामा ४ जीपीए ल्याउने एक जना पनि विद्यार्थी छैनन्। एक जना मात्र विद्यार्थीको ३.९९ प्रतिशत जीपीए आएको छ।’

पर्सामा यस पालिको एसईईको नतिजा निकै निराशाजनक आएको उनले बताए। भट्टराईले भने,‘ यसपालि  पर्साको एसईईको रिजल्ट राम्रो छैन। निकै निराशाजनक र कमजोर देखियो। अब यसबारे सरोकारवालाले गम्भीर समीक्षा गर्नुपर्छ।’  

यस बिषयमा तपाइको प्रतिक्रिया...!