सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूललाई भर्ना प्रक्रिया पारदर्शी बनाउन शिक्षामन्त्रीको आग्रह

Posted on: 27 Mar, 2024

चैत १४, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलका प्रिन्सिपललाई भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गरेकी छन् ।

बुधबार तिनै स्कुलका प्रिन्सिपललाई मन्त्रालयमा बोलाएर विद्यालयमा भर्ना प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गरेकी हुन् ।

मन्त्री श्रेष्ठले भनिन्- ‘ती विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईंहरुको त कोटा हुन्छ, भनिदिनुपर्यो भनेर दबाब दिइरहनु भएको छ। उहाँहरुको भनाइअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे । विगतमा त्यस्तो विकृति थियो भने पनि अब अन्त्य गर्नुपर्छ ।’

छलफलमा तीनवटै विद्यालयका प्रिन्सिपलले विद्यार्थी भर्नामा विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो पोखेका थिए । मन्त्री श्रेष्ठले भने विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन निर्देशन दिदै स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गरेकी थिइन् । 

छलफलमा सेन्ट जेभियर्सले चार वर्षअघि देखि नै गोलाप्रथाबाट भर्ना लिने गरिएको, सेन्ट मेरिजले अघिल्लो वर्ष अभिभावकसँगको अन्तरक्रियाका आधारमा भर्ना लिइएको र बुढानीलकण्ठले परीक्षाले निर्धारण गरेको योग्यतामा आधारमा भर्ना लिने गरिएको जानकारी दिएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!