रविको आलोचना गरेको विषयमा रास्वपाले लिखित जवाफ मागेपछि रमेश खरेलले पठाए राजीनामा पत्र

Posted on: 27 Mar, 2024

चैत १४, काठमाडौँ | पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन् । पार्टी सभापतिको विरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेको थियो ।

खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयमा पठाएको स्रोतले बतायो । उनले अंग्रेजीमा लेखेको राजीनामा पत्र महामन्त्री डा. मुकुल ढकालको टेबलमा पुगेको छ ।


पार्टी केन्द्रीय कार्यालयलाई सम्बोधन गरिएको पत्रमा खरेलले लेखेका छन्, ‘सचेत रुपमा विचार र समीक्षा गरेपछि म यो निर्णयमा पुगेँ कि मैले पार्टीबाट अब आफ्नो बाटो अलग गर्नुपर्छ ।’

खरेलले आफूलाई रास्वपाले उपलब्ध गराएको अवसर र अनुभवप्रति आभार प्रकट गरेका छन् ।

‘यद्यपि, पछिल्लो विकासक्रम तथा मेरो व्यक्तिगत आस्था र प्राथमिकतामा आएको परिवर्तनले गर्दा पार्टीको सिद्धान्त र लक्ष्यसँग तादाम्यता मिल्न सकेन,’ उनले भनेका छन् ।

रमेश खरेल अहिले स्पेस फोके टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रम चलाउँछन् । हालैको एपिसोडमा उनले स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी रवि लामिछाने गृहमन्त्री बनेको भन्दै कडा आलोचना गरेका थिए । यही विषयमा स्पष्ट पार्न रास्वपाको अनुशासन समितिले उनलाई आग्रह गरेको थियो ।

रमेश खरेल रास्वपाको साधारण सदस्यको हैसियतमा मात्र थिए । बाराको उपचुनावमा रास्वपाबाट उम्मेदवारी दिएर पराजित भएपछि उनी पार्टीमा निष्क्रिय बनेका हुन् । उनले केन्द्रीय सदस्य बन्ने प्रस्ताव अस्वीकार गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!