निर्दयी आमा: दिनरात रोएर आफूलाई सास्ती दिएको भन्दै आफ्नै डेढ महिने छोराको हत्या

Posted on: 21 Mar, 2024

चैत ८, राजस्थान । भारतको राजस्थान राज्यको जयपुरमा एक महिलाले आफ्नै डेढ महिने छोराको हत्या गरेको तथ्य प्रकाशमा आएको छ ।

अन्जुम नाम गरेकी ती महिलाले नवजात शिशु (छोरा) दिनरात रोएर आफूलाई सास्ती दिएका कारण हत्या गर्नु परेको प्रहरी समक्ष बताएकी छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

अन्जुमका अनुसार उनी एक्लै बस्दै आइरहेकी थिइन् । मार्च २ का दिन आफूले सर्जिकल ब्लेड प्रयोग गरी बच्चाको घाँटी काटेर हत्या गरेको बयान उनले प्रहरीसमक्ष दिएकी छन् ।


प्रहरीका अनुसार अन्जुमले आफ्नो छोराको हत्या गरेको केहीबेरमै हो–हल्ला गरेकी थिइन् । छोराको कसैले हत्या गरेको भन्दै उनले हार गुहार गरेपछि मानिस भेला भएका थिए ।

त्यतिबेला कसैले पनि आमाले नै छोराको हत्या गरेको हुन सक्छ भनेर शंका गरेनन् । मार्च ३ का दिन रामगंज प्रहरी थानामा पीडित परिवारको तर्फबाट जावेद खानले उजुरी दर्ता गराएका थिए । उजुरीमा घरमै सुतिरहेको अवस्थामा बच्चाको घाँटी काटिएको अवस्थामा शव फेला परेको बताइएको थियो ।

घटना भएको दिन उक्त घरको तल्लो तलामा अन्य मानिस पनि थिए । तर उक्त घटना घरको माथिल्लो तलामा भएको थियो जहाँ अन्जुममात्र बस्थिन् । त्यसपछि प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान अघि बढाएको थियो ।

गहन सोधपुछपछि अन्जुमले हत्या स्वीकारेको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!