२१ वर्षमा शाखा अधिकृतको सम्पत्ति करिब सात करोड, अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

Posted on: 21 Mar, 2024

चैत ८, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन शाखा अधिकृत यामकुमार कार्कीउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वीकाठमाडौं नयाँ शहरी विकास आयोजनामा पदीय मर्यादाविपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

कार्कीविरुद्ध तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार कार्की सार्वजनिक सेवा गरेको अवधि (२०५८/०४/१६-२०७९/१२/३०)को आय-व्ययको विश्लेषण गर्दा कुल आम्दानी तीन करोड ७७ लाख १३ हजार ६४६ रुपैयाँ रहेकोमा कुल ६ करोड ९८ लाख ४६ हजार ६०३ खर्च तथा लगानी गरेको देखिएको छ ।
त्यसमध्ये तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैंयाको वैधानिक स्रोत नखुलेको अख्तियारले जनाएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत/असुल उपर गर्ने प्रयोजनका लागि मात्र निजकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायमगरी स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!