सेती बाँध खोलेर खोज्दा पनि भेटिएनन् मानबहादुर

Posted on: 29 Feb, 2024

फागुन १७, कास्की | माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्ति खोज्न सेती नदीको बाँध खोलेर खोजी गर्दा पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

फागुन १३ गते राति सेतीमा माछा मार्ने क्रममा पोखरा १, सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ सम्पर्कविहीन भएका थिए । उनको खोजीका लागि पोखरा १, दीपमा रहेको सेती सिंचाइ बाँध बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म खोलिएको थियो ।


‘बाँध खोलेर बहाव बढ्दा कहींकतै केही भेटिन्छ कि भन्ने थियो । तर, साँझसम्म खोजी गर्दा पनि केही भेटिएन’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले भने, ‘अहिलेलाई बाँध बन्द गरेका छौं । खोजी कार्य जारी नै छ ।’

दिनदिनै सेती बाँध खोल्न समस्या हुने र सम्भव पनि नभएकाले शुक्रबार भने बाँध नखोलिने प्रहरी निरीक्षक रानाले जानकारी दिए । ‘अब भोलि (शुक्रबार) स्थानीय र लोकल प्रहरीले खोजी कार्य जारी राख्नुहुन्छ’, उनले भने ।

तामाङ सम्पर्कविहीन भएको भोलिपल्ट फागुन १४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि सेती बाँध खोलिएको थियो । पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा १४ गते पोखरा १, कसेरीका गंगा तामाङ मृत फेला परेका थिए ।

सँगै माछा मार्न गएका तीन जनाको सकुशलै उद्धार हुँदा तामाङको अवस्था भने अहिलेसम्म अज्ञात छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!