गठबन्धन खरानीको डल्लो, सुकाए पनि फुट्छ, भिजाए पनि फुट्छ : केपी ओली

Posted on: 28 Feb, 2024

फागुन १६, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन खरानीको डल्लो भएको टिप्पणी गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन कति समय जान्छ भन्ने विषय आफूलाई थाहा नभएको बताए ।

तर, त्यो खरानीको डल्लो भएकोले कुनै पनि बेला फुट्ने ओलीले टिप्पणी गरे ।  ‘यो खरानीको डल्लो हो, यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ’, ओलीले भने ।

अध्यक्ष ओलीले कांग्रेसको सोच, विचार, चिन्तन केही पनि नभएको बताउनुभयो ।  कांग्रेसले सरकार र सत्तामा पुग्ने बाहेक केही थाहा नपाउने ओलीले टिप्पणी गर्नुभयो । ‘अरू कुरा छाड्यो कांग्रेसले उहाँले भन्नुभयो’, उनले भने ।


सरकार फेरबदलको खेलमा एमाले नरहेको पनि उनले प्रष्ट पारे । ‘गठबन्धनको खेलमा हामी छँदै छैनौँ, हामी मिसन २०८४ मा छौँ’, ओलीले भने । ओलीले आफूहरूको ध्यान मिसन ८४ मा केन्द्रित रहेको बताए । २०८४ मा हुने चुनावमा एमाले बहुमत सहितको दलमा स्थापित हुने ओलीले दाबी गरे। राष्ट्रियतालाई बलियो बनाउन, सुशासन र विकास कायम गर्न, जनताको निराशा चिर्न एमालेलाई निर्णायक शक्तिको रूपमा विकास गरिने ओलीले बताए । 

उनले अहिले राष्ट्रियता कमजोर भएको, सुशासन र विकास कमजोर भएको कारण नागरिकमा निराशा छाएको बताए । त्यसलाई सुदृढ गर्न र जनतामा आशा जगाउन एमालेले मिसन २०८४ भनेको उनले स्पष्ट पारे ।

एमाले सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित गर्नुपर्छ भनिरहेको पनि उनले स्पष्ट पारे । सबैको सहमतिमा पीडित मैत्री हुने गरी सो विधेयक पास गर्नुपर्ने उनको धारणा छ । 

सरकारले बनाएकै समितिले दोषी ठहर गरेपछि मन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । मानव हत्याको विषयमा दोषी ठहरिएका व्यक्तिलाई झण्डा हल्लाएर हिँड्ने अधिकार नरहेको ओलीले प्रष्ट पारे ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!