नेदरल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

Posted on: 28 Feb, 2024

फागुन १६, काठमाडौं | त्रिकोणात्मक टि-२०आई सिरिज अन्तर्गत नेदरल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेदरल्याण्डले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको हो।

नेदरल्याण्डका लागि माइकल लेभिटले ३ छक्का र ५ चौका प्रहार गर्दै सर्वाधिक ५४ रन बनाए।

त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४९ रन र  तेजा निदामानुरुले ३१ रन, स्कट एडवार्ड्सले ३३ रन,म्याक्स ओ डाउडले ५ रनको योगदान गरे। निदामानुरु र एडवार्ड्स रन आउट भएका हुन्।

नेपालका लागि करण केसी र कुशल मल्लले १/१ विकेट लिएका हुन्। नेपालले केहि समयपश्चात जवाफि ब्याटिङ गर्दैछ।

नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेका हुन्। आइसीसी क्रिकेट विश्वकप लिग-२ को एकदिवसीय पहिलो सिरिज सकिएलगत्तै नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि-२० सिरिजमा प्रतिस्पर्धा गरेका हुन्।

यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपको औपचारिक तयारी सुरुवात गर्नेछ। विश्वकपमा नेपाल रहेको समूह डीमा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!