२० रुपैयाँ पर्ने दुईवटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि...

Posted on: 09 Feb, 2024

माघ २६, काठमाडौँ | दुईवटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने धादिङको गल्छी गाउँपालिकास्थित ह्याम्लेट रेस्टुरेन्टलाई एक लाख जरिवाना गरिएको छ।

२० रुपैयाँ पर्ने दुईवटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि गल्छी–७ मासटारमा रहेको ह्याम्लेट रेस्टुरेन्टलाई जिल्ला अनुगमन समितिले एक लाख जरिवाना गरेको हो।

पृथ्वी राजमार्ग आसपासमा महँगो मूल्य असुल्ने होटेल, किराना पसल र क्याफेलाई जरिवाना गराइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए। उपभोक्ताबाट गुनासो आएपछि चाउचाउ पकाएर खाएको पैसा तिरेको बिलसहित बोकेर अनुगमनमा पुगेको टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको उनले बताए।


‘पकाएर दिएको दुई पोका चाउचाउको पाँच सय रुपैयाँ तिरेको होटेलले दिएको बिलसहित एकजना उपभोक्ताले जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी गरे। उजुरी परेपछि अनुगमन गरी जरिवाना गरेका हौँ,’ उनले भने, ‘ह्याम्लेटसहित गल्छीकै नवोदीप स्टोर र रिभर भ्यु क्याफेलाई १०–१० हजार जरिवाना गरिएको छ। विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पालना नगरेको र अधिकतम मूल्य लिएकाले जरिवाना गरिएको हो।’

तोकिएको मूल्यभन्दा बढी लिने होटेल तथा पसलेलाई कडाभन्दा कडा कारबाही गरिने उनले बताए। ‘विगतका दिनमा हामीले खानेकुराको गुणस्तर हेरेका थियौँ। पछिल्लो समय एमआरपीमा उपभोक्ता ठगिने गुनासा आएका छन्,’ उनले भने, ‘अबका दिनमा महँगो मूल्य असुल्नेहरूमा फोकस गरेका छौँ। उपभोक्ताले खरिद बिल र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन सक्नेछन्।’

उनले उपभोक्ताहरूलाई अधिकतम खुद्रा मूल्यभन्दा बढीमा सामान खरिद नगर्न अनुरोध गर्दै सोभन्दा बढीमा सामान बिक्री गरेको देखिएमा कालोबजारी र ठगी अभियोगमा मुद्दा चलाइने प्रस्ट पारेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!