देशभर हल्का वर्षा, सोमबार साँझदेखि मौसम सफा हुँदै जाने

Posted on: 04 Feb, 2024

माघ २१, काठमाडौँ | पश्चिमी वायुको प्रभावका कारण देशभर केही स्थानमा पानी परिरहेको छ । जल तथा मौसमविज्ञान विभागका मौसमविद| सञ्जीव अधिकारीका अनुसार अहिले देशभर हल्का वर्षा भइरहेको छ । सोमबार साँझदेखि मौसम सफा हुँदै जानेछ । देशका पहाडी र तराई क्षेत्रमा आंशिक बदली रही पानी परेको हो ।  

“तराईको लुम्बिनी प्रदेशको केही स्थानमा हुस्सुसहित पानी परेको छ,”उहाँले भन्नुभयो, “आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ ।” गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एक-दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । 

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । 

मौसमविद् अधिकारीका अनुसार आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा सोमबार साँझदेखि मौसम सफा हुँदै जानेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावनासँगै पहाडी भूभागका एक-दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । अहिले काठमाडौँ उपत्यकामा पनि पानी छिटपुट पानी परिरहेको उहाँले जानकारी दिनुभयो ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!