पूर्व प्रधानमन्त्री चन्दलाई भेट्दै दुर्गा प्रसाईंले लेखे: आन्दोलनको तयारीस्वरुप अर्थपूर्ण भेट

Posted on: 04 Feb, 2024

माघ २१, काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग भेटवार्ता गरेका छन् ।

पञ्चायतकालका चर्चित राजनीतिक खेलाडीको रुपमा चिनिएका चन्द पछिल्लो समय राप्रपाको राजनीतिमा खासै सक्रिय छैनन् । राप्रपाको राजनीतिबाट टाढिएपनि उनी राप्रपा नेताहरुसँग भने बेलाबखत भेटघाट गर्दै आएका थिए ।


आन्दोलनको तयारीस्वरुप आफूले पूर्वप्रधानमन्त्री चन्दलाई भेटेको प्रसाईंले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । चन्दलाई ‘दाजु’ सम्बोधन गर्दै प्रसाईंले उनीसँग अर्थपूर्ण भेट भएको बताएका छन् ।

‘आन्दोलनको तयारीस्वरुप आदरणीय दाजु लोकेन्द्रबहादुर चन्दसँग अर्थपूर्ण भेटघाट तथा छलफल !’, उनले फेसबूकमा लेखेका छन् ।

प्रसाईंले गतसाता पूर्व राजा ज्ञानेन्द्र शाहसँग पनि भेटघाट गरेका थिए । प्रसाईं राजसंस्था फर्काउने उद्घोषसहित केही महिनादेखि मैदानमा उत्रिएका छन् । राजसंस्था फर्काउन सक्रिय रहेको राप्रपाले पनि अर्को महिनादेखि आन्दोलनको थालनी गर्दैछ । आन्दोलनको तयारीका लागि भन्दै प्रसाईंले पूर्वराजा ज्ञानेन्द्रदेखि बलिउड अभिनेत्री मनीषा कोइरालासम्मलाई भेटिसकेका छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!