आफ्नै मृत्युको झुटो खबर फैलाएकी पुनम पाण्डेविरुद्ध उजुरी

Posted on: 04 Feb, 2024

माघ २१, काठमाडौँ | भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेविरुद्ध उजुरी दर्ता भएको छ । आफ्नै मृत्युको झुटो खबर फैलाएको भन्दै अभिनेत्रीविरुद्ध उजुरी दर्ता भएको हो । शुक्रबार बिहानै पाण्डेको मृत्युको खबरले सारा बलिउड स्तब्ध बनेको थियो । पाण्डेकी म्यानेजरले इन्ष्टाग्राम पोस्टमा अभिनेत्रीको मृत्यु भएको घोषणा गरेकी थिइन् । सर्भिइकल क्यान्सरका कारण अभिनेत्रीको मृत्यु भएको बताइएको थियो । साँझसम्ममा पाण्डेको म्यानेजर र पूरै परिवारको फोन बन्द भएपछि यो घटना रहस्यमयी बन्यो ।


तर शनिबार पाण्डे आफैँले एउटा भिडियो शेयर गर्दै सर्भिकल क्यान्सरप्रति जागरूकता जगाउन आफ्नो मृत्युको नाटक गरेको बताइन् । अघिल्लो दिन अभिनेत्रीलाई श्रद्धाञ्जली दिइरहेका फिल्डम इन्डष्ट्री र टिभीका सेलिब्रेटीहरु भिडियो देखेपछि क्रुद्ध भए । अधिकांशले पुनमलाई गाली गरिरहेका थिए । पब्लिसिटी स्टन्ट र पीआरका लागि पुनमले मरेको नाटक गरेको अनि यो उचित नभएको अधिकांशको भनाई थियो ।

वकिल अली काशिफ खान देशमुखले पाण्डेविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । अभिनेत्रीको म्यानेजर निकिता र एजेंसी हटरफ्लाईविरुद्ध पनि एफआईआरको माग गरिएको छ । सबैमाथि सर्वसाधारणलाई धोका दिएका अनि सर्भिकल क्यान्सरको नाममा घोखाघडी गरेको मामिलामा कारबाही गर्न भनिएको छ । अल इन्डिया सिने वर्कर्स एशोसियशनले पनि पाण्डे विरुद्ध एफआईआर गर्ने बताइएका छन् । क्यान्सरबारे जागरूकता फैलाउने नाममा आफ्नो प्रमोसन गर्नु स्वीकार्य नभएको एशोसियशनको भनाई छ ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!